
काठमाडौं : कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा सरकारले प्रतिक्रियामात्र जनाएको आक्षेप नेपाली कांग्रेसले लगाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हिजोमात्रै एक टेलिभिजन अन्तर्वार्तामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भनाइलाई लिएर कडा टिप्पणी गरेका थिए। सीमाकै विषयलाई लिएर देउवाले सरकारकै सहमतिमा भारतले नक्सा जारी गरेको आक्षेप लगाएका थिए। त्यसको ओलीले प्रतिवाद गरेका थिए।
कांग्रेसले आज प्रेस विज्ञप्ति जारी गर्दै कालापानी विषयान्तरको विषय होइन भन्दै पहल कदमीका लागि आग्रह गरेको छ। पाँच बुँदे धारणा सार्वजनिक गर्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले पहल कदमी नगर्नुलाई लुलो राष्ट्रवादको संज्ञा दिएका छन्।
धारणा १ : अभूतपूर्व राष्ट्रिय एकता
कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा कालापानीक विषयमा अभूतपूर्व राष्ट्रिय एकता निर्माण भएको जनाएको छ। 'हाम्रो देशको अविभाज्य भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो देशको नक्सामा गाँसेर भारत सरकारले नक्सा सार्वजनिक गरेको महिना दिन पुग्न लाग्दैछ। घटना लगत्तै नेपाली कांग्रेसले गम्भीर विमती त प्रकट गर्यो नै। यो अवधिमा ती भू–भागबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने र त्यसका लागि नेपाल सरकारले उच्च स्तरीय कुटनैतिक र राजनैतिक पहल गर्नुपर्ने बिषयमा अभूतपूर्व राष्ट्रिय एकता समेत निर्माण भएको छ,' कांग्रेसले भनेको छ।
धारणा २ : प्रतिक्रियाले मात्र हुन्न
भारतले नक्सा जारी गरेको महिना दिन हुँदा पनि सरकाले कुटनीतिक पहल नगरेको आरोप लगाएको छ। 'सरकारले न त गम्भीर कुटनीतिक पहल गरेको सुनिएको छ न त उच्चस्तरीय राजनैतिक संवाद गरेको देखिएको छ,' कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'केवल प्रतिक्रिया मात्रै जनाएर सरकारको कर्तव्य पूरा हुन्न। बलियो राष्ट्रिय एकताको साझा अभिमतलाई नेतृत्व गर्न र परिणाम हासिल गर्ने ढंगले सदुपयोग गर्न यस बीचमा सरकारले अयोग्यता प्रदर्शन गरेको छ।'
त्यसैलाई आधार बनाएर कांग्रेसले आशंकाहरु उब्जिएको जनाएको छ। 'तर पनि नेपाली कांग्रेस फेरि पनि दृढ ढंगले सरकारलाई साथ दिन प्रतिबद्ध छ,' विज्ञप्तिमा उल्लेख छ।
धारणा ३ : लुलो राष्ट्रवाद
कांग्रेसले विज्ञप्तिमा राष्ट्रवादको अडानमाथि प्रश्न गर्दै त्यो परिणाममुखी हुनुपर्ने जनाएको छ। 'कालापानी प्रकरणमा परीक्षाको यही दायित्व पूरा गर्ने अभिभारा वर्तमान सरकारको काँधमा आइपुगेको छ,' विज्ञप्तिमा भनिएको छ, 'तर सबै दल र सम्पूर्ण नेपालीको साथ रहँदा पनि गम्भीर पहल कदमी नहुनु दुःखद् त छ नै प्रश्न पनि उब्जिएको छ हिजोको राष्ट्रवादको उग्र भाव कृत्रिम थियो। आज के प्राकृतिक स्वरुपमा लुलो राष्ट्रवाद प्रकट भएको हो?'
धारणा ४ : नक्सा सार्वजनिक गर्न किन ढिलाई?
कांग्रेसले सरकारलाई सार्वजनिक रुपमा देशको वास्तविक नक्सा सार्वजनिक गर्न ढिलाइ किन भन्दै गम्भीर कुटनीतिक पहलकदमी नगरेकोमा पनि प्रश्न गरेको छ। 'उच्च स्तरीय राजनीतिक संवाद मार्फत् परिणाम हासिल गर्ने प्रक्रिया अघि बढाउन शासकीय योग्यता अभाव किन?,' कांग्रेसले सरकारसँग प्रश्न गरेको छ।
धारणा ५ : भारतीय सुरक्षाबल फिर्ता हुनुपर्छ
कांग्रेसले नेपाली भूभागमा रहँदै आएको भारतीय सुरक्षा बल त्यहाँबाट फिर्ता हुनुपर्ने जनाएको छ। 'सार्वजनिक रुपले पुनः हामी दोहोर्याउन चाहन्छौं कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रा अविभाज्य भूमि हुन्। त्यहाँबाट भारतीय सुरक्षाबल फिर्ता हुनुपर्छ। कुटनीतिक र राजनैतिक पहल गरिनुपर्छ र यसका लागि नेपाल सरकारलाई नेपाली कांग्रेसको दृढ साथ रहनेछ।'