PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

दक्षिण एसियाली खेलकुद: आजबाट भलिबलका खेल सुरु, नेपालले बंगलादेशको सामना गर्ने



पहिलोपोस्ट

दक्षिण एसियाली खेलकुद: आजबाट भलिबलका खेल सुरु, नेपालले बंगलादेशको सामना गर्ने

दक्षिण एसियाली खेलकुद साग अन्तर्गत आजबाट भलिबलका खेल सुरु हुँदैछन्। औपचारिक उद्घाटन मंसिर १५ गते भए पनि भलिबलका खेल त्यसअघि नै सुरु हुन लागेका हो। 

नेपाली पुरुष भलिबल टोली र महिला भलिबल टोली दुवैले आज पहिलो खेल खेल्दैछन्। दुबै टिमको पहिलो प्रतिद्वन्दी बंगलादेश हो।

प्रतियोगितामा नेपाल समूह 'ए' मा छ। समूह 'ए' मा नेपालसँगै भारत र बंगलादेश रहेका छन् भने समूह 'बी' मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स रहेका छन्।

नेपाली महिला टोलीले आज ३ बजे बंगलादेशसँग त्रिपुरेश्वरस्थित कभर्डहलमा प्रतिस्पर्धा गर्नेछ। पुरुष टोलीले साँझ ७ बजे खेल्नेछ।

नेपाली महिला टोलीका प्रशिक्षक जगदीश भट्टले नेपाली टोलीको लक्ष्य स्वर्ण पदक भएको बताउँदै आएका छन्। भर्खरै बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन वुमन्स भलिबलमा स्वर्ण जितेको नेपाली टोली जितका लागि आत्मविश्वासी देखिन्छ। साग तयारीका लागि नेपाली महिला टिमले थाइल्यान्डमा अभ्यास गर्नुका साथै मैत्रीपूर्ण खेलहरुसमेत खेलको थियो।

यता पुरुष भलिबल टिमले पनि भारतमा प्रशिक्षण गर्नुका साथै अभ्यास खेलहरु खेलेको थियो। नेपालमै आयोजना गरिएको एभिसी सेन्ट्रल जोन मेन्स भलिबलमा गरेको फितलो प्रदर्शन सुधार्ने अवसर नेपाली टोलीलाई छ।

नेपाली टोलीका प्रशिक्षक लेस ले दि जोङ नेपालले सागमा पदक हात पार्नेमा विश्वस्त छन्।

'सागमा पुरुष भलिबलको लक्ष्य पदक हात पार्ने नै हो। हामी खेल जित्ने योजनामा छौं। गोल्ड, सिल्भर या ब्रोन्ज म भन्न सक्दिनँ तर हामीले मेडल जित्ने छौं', डच प्रशिक्षक दि जोङले कुराकानीका क्रममा भने, 'अघिल्लो पटकको एसियन गेम्सको तयारी भन्दा यसपटक तयारी राम्रो छ। भारतमा गएर पनि हामीले अभ्यास गरेको थियौं जुन फलदायी थियो।'    

दोस्रो खेलमा नेपाली महिला भलिबल टोलीले बिहीबार भारतसँग खेल्नेछ। पुरुषटिमले भने शुक्रबार बलियो प्रतिद्वन्दी भारतको सामना गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell