काठमाडौं : नक्कली कागजपत्र बनाइ अर्काको बैंक खाताबाट लाखौं रुपैयाँ निकाल्ने गिरोहका ६ जना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार उनीहरुलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सुभाष श्रेष्ठ, कुमार तामाङ, मनिष घिमिरे, अन्जन बराल, सुमन पौडेल र गोविन्द घिमिरे छन्। उनीहरुले जनता बैंकबाट १९ लाख ९ हजार रुपैयाँ निकालेको खुलेको प्रहरीले जनाएको छ।
उनीहरुबाट १८ लाख ५० हजार नगद सहित विभिन्न बैंकहरुका ठूलो परिमाणमा चेकबुक तथा खाता खोल्न तयार रहेका फर्महरु फेला परेको थियो। त्यतिमात्रै नभई प्रहरीले उनीहरुबाट विभिन्न व्यक्तिहरूको नागरिकताको करिब ८८० प्रतिलिपि समेत बरामद गरेको छ। यस्तो कार्यलाई अर्को अपराधको रुपमा प्रहरीले लिएको छ।
गत ८ गते राति साढे ८ बजे जनता बैंकका खातावाल गोपालमान राजबाहाकले आफ्नो खाताबाट पटक पटक गरि १९ लाख ९ हजार रुपैयाँ निकालेको उनको मोबाइलमा मेसेज आएपछि अनुसन्धान थाल्दा गिरोह पक्राउ परेको हो।
उनले कुनै पनि चेक कसैलाई नदिएको भन्ने सुचना प्रहरीले पाउना साथ विशेष टोलीले सम्बन्धित बैंक तथा राष्ट्र बैंकका उच्च पदाधिकारीहरुसँग छलफल गरेको थियो।
गिरोहले नक्कली चेक बुक बनाएर खाताबाट पैसा झिकेको थियो। राजबाहकको खाताबाट पैसा निकाल्न पुनः चेक बोकि एक जना व्यक्ति जनता बैंक न्युरोड शाखामा आएको सुचना प्राप्त हुनासाथ उसलाई नियन्त्रणमा लिइएको थियो। उनीहरुले अन्य बैंकबाट पनि त्यसरी नै पैसा निकालेको हुन सक्ने प्रहरीको अनुमान रहेको एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।