PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

सडक फराकिलो बनाउन गंजभवानीपुरका भौतिक संरचना भत्काइयो



राधेश्याम पटेल

सडक फराकिलो बनाउन गंजभवानीपुरका भौतिक संरचना भत्काइयो

वीरगंज : सडक विस्तार तथा सुधारका लागि गंजभवानीपुरमा सडक छेउका घटटहरा भत्काइएको छ। राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण (एसएनआरटिपी) आयोजना अन्तर्गत गंजभवानीपुर बजारका भौतिक संरचनाहरू भत्काइएको हो।

गढीमाई मेलालाई लक्षित गरी सडकको कामलाई तीब्रता दिन र सडक फराकिलो बनाउन भौतिक संरचनाहरू भत्काइएको हो। महागढीमाई नगरपालिकाका वडाध्यक्षहरू चन्दनकुमार साह र उपेन्द्रप्रसाद साहको उपस्थितिमा करिब सयवटा जति घरटहरा स्थानीय प्रहरी प्रशासनको सहयोगमा भत्काइएको छ।

एसएनआरटिपी आयोजना अन्तर्गत बारा जिल्लाको कलैयादेखि पूर्व मलाहीसम्म सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। सो सडक १६ किलोमिटर निर्माण हुने भएकोले गंजभवानीपुर, मलाही र कोपवामा ३ किलोमिटर सडकको कालोपत्रे गर्ने काम बाँकी रहेको छ।

पूर्वाधार विकास कार्यालय पर्साको सम्पर्क एकाइ कार्यालय बाराद्वारा सञ्चालित सो सडकको भौतिक प्रगति ७५ प्रतिशत अर्थात् वित्तीय प्रगति करिब ४४ प्रतिशत पूरा भएको एसएनआरटिपीका सूचना अधिकारी एवं इन्जिनियर दीपक मिश्रले बताए।

कलैयादेखि पूर्व गंजभवानीपुर, बगडमपुर, गडहल, बसतपुरसम्म कालोपत्रे सडकको निर्माण कार्य शतप्रतिशत पूरा भएको उनले बताए।

गंजभवानीपुर, मलाही र कोपवा टोलको बजारक्षेत्रमा करिब साढे ३ किलोमिटरको बाटोमा सामान्य विवाद रहेकाले सो समस्याको समाधान गरी निर्माण कार्यलाई तीब्रता दिइएको इन्जिनियर मिश्रले जानकारी दिए।

२०७३ माघ २३ गते सपना/शिवशक्ति जेभी कन्स्ट्रक्शनले १२ करोड ८१ लाख ६ सय ५५.९७ रुपैयामा सो सडक २०७५ वैशाख १७ गतेसम्म निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरेको थियो। समयमा सडक निर्माण सम्पन्न नभएपछि पहिलो र दोस्रो म्यादसगै आउने पुस १५ गते यो आयोजनाको नै म्याद समाप्त भइरहेको इन्जिनियर सञ्जयप्रसाद साहले बताए।

उता सो सडक निर्माण गर्न एसएनआरटिपीले १८ फिटभित्र नालासहितको सडक निर्माण गर्ने प्रस्ताव पेश गरेपनि स्थानीय समितिले ३० फिटभित्रमा नालासहितको सडक निर्माण गर्ने सहमति गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell