- सुमित मिश्र -
जनकपुरधाम : रामजानकी विवाह पञ्चमी महोत्सव अन्तर्गत आज दोस्रो दिन फूलवारी लीला कार्यक्रम भएको छ। सप्ताहव्यापी विवाह पञ्चमी अन्तर्गत जानकी मन्दिरसंँगै रहेको विवाह मण्डपमा सीताले फूल टिप्न गएको बेलामा रामसँग भएको पहिलो भेटको सम्झना स्वरुप फूलबारी लीला गरिएको हो।
जानकी मन्दिरबाट माता सीता र भगवान रामको प्रतीकात्मक स्वरुपलाई विवाह मण्डपको बगैचामा लगेर फूलबारी लीला मनाइँदै आएको मन्दिरको सह–महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए। राम र सीताबीच एकान्तमा भेटघाट गराइने कार्यक्रमलाई फूलबारी लीला भनिन्छ।
त्रेता युगमा फूल टिप्न गएकी सिता रामसँग भेट भएको प्रसंगलाई फूलबारी लीलाका रुपमा मनाइने प्रचलन छ। मिथिलाका राजा जनककी छोरी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले गोस्वामी तुलसीदासद्वारा रचित रामायणमा भएको वर्णनअनुसार यसलाई विशेष महोत्सवका रुपमा मनाउने गर्छन्।
त्रेता युगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयम्बरका लागि राखेका शिव धनुषलाई अयोध्याका राजा दशरथका छोरा रामले तीन टुक्रा पारेपछि मंसिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो। रामायणमा उल्लेख भएअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको सो स्वयम्बरमा ५६ कोटी देवताको उपस्थिति रहेको मान्यता छ।
सीतालाई छोरी र बहिनीका रुपमा मान्ने मिथिलावासी, महोत्सवमा देवीदेवताको शरीरको सहभागिता नभए पनि अदृश्य रुपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रति छायाँ जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुन्छन्। परम्परा अनुरुप जनकपुरधामको राम मन्दिरबाट बाजागाजा, झांँकीसहित भगवान रामको प्रतिमालाई विशेष रुपमा निर्मित डोला सिंहासनमा राखी जनकपुर नगर परिक्रमा गर्दै रङ्गभूमिमा पुर्याइ। त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सु–सज्जित डोलामा राखी रङ्गभूमिमा लगिने प्रचलन छ।