PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

राज्यमन्त्री रामवीरको शहर सपना : कसरी जुट्दैछन् काममा?



सहयोग रञ्जित

राज्यमन्त्री रामवीरको शहर सपना : कसरी जुट्दैछन् काममा?

काठमाडौं : शहरी विकास राज्य मन्त्री नियुक्त भएपछि रामवीर मानन्धर अहिले निकै व्यस्त छन्। बालाजु, बाइपासस्थित घरमा भेट्न आउनेको लर्को छ। विभिन्न सभा समारोहमा सहभागी हुन निम्तोको ओइरो पनि उत्तिकै। मन्त्रालयको कामको अवस्था बुझ्ने जिम्मेवारी पनि। काम कसरी गर्न सकिन्छ र देखाउन सकिन्छ भन्ने हुटहुटीले उनलाई शहरको अध्ययनतिर खिचेको छ। 

राज्यमन्त्री बनेपछि गाडीमा झण्डामात्रै फहराएर नहिँड्ने बताउँदै उनले भने, 'मैले प्रधानमन्त्रीलाई भनेको छु म यहाँ काम गर्न आएको हुँ। पदको लागि आएको होइन। काम गर्न सकिएन भने यहाँ बसेको केही मतलब हुँदैन। त्यसैले मलाई काम गर्ने वातावरण दिनुस्। त्यसका लागि अधिकार र साथ चाहियो।'

मानन्धरले अधिकार खोजिरहँदा आफूले मन्त्रालयमा रहेर गर्न सक्ने कामको लिस्ट तयार गर्दैछन्। मानन्धरले आफूले मन्त्रीका रुपमा काम गर्न सक्ने केही प्रारम्भिक योजना पहिलोपोस्टसँग सेयर गरे। विशेष गरी उपत्यका केन्द्रित योजनाहरुमा आफूले काम गर्न सक्ने उनले बताए। भने, 'हामीले चौमासिक योजनामा पनि यो कुरा राखेका छौं। उपत्यका विकास प्राधिकरण, नगर विकास कोष, अधिकार सम्पन्न वाग्मती सभ्यताका बारेमा म अध्ययन गर्दैछु।'

काठमाडौंको सभ्यताको परिचय वाग्मती रहेको तर यसको संरक्षणको काम सोचे अनुरुप हुन नसकेको बताउँदै उनले भने, 'वाग्मती, बिष्णुमती नभएको भए यहाँ बस्ती नै विकास हुँदैन थियो। त्यसैले यसको व्यवस्थापनका लागि गठन भएको एकीकृत वाग्मती सभ्‍यता विकास समितिको बारेमा म फोकस गर्दैछु। काम किन भएन भनेर मैले अधिकारीहरुसँग रिपोर्ट मागेको छु। राजधानीमा हुने परियोजना हेर्ने कामको जिम्मेवारीमा म दाबी गर्छु।'

काठमाडौं प्रवेश गर्न सुरुङमार्गको निर्माणमा पनि उनको चासो छ। नागढुंगा, टोखा- छहरेमा सुरुङमार्ग निर्माण हुँदा त्यसबाट काठमाडौंमा थप वस्ती विकास हुने सम्भावना रहेको भन्दै त्यही स्थानमा शहर निर्माणको कल्पना गर्नुपर्ने उनले बताए।

'सुरुङमार्ग बनेपछि काठमाडौंमा नै थप चाप भयो भने त्यो बनाएको के काम भयो? बरु उतै शहर निर्माण गरेर बस्ती बसाउन सकियो भने काठमाडौंमा चाप पनि घट्छ। ती क्षेत्रको विकास पनि हुन्छ। यसबारेमा अध्ययन गर्न सकिन्छ,' उनले भने।

शहर भित्रको गाडी प्रवेशलाई कसरी विकास गर्नेबारे चिन्तन गरिरहेको बताउँदै उनले भने, 'सबै गाडी काठमाडौंमा आएपछि जाम बढ्ने नै भयो। त्यसलैले नागढुंगामुनि बसपार्क बनायो भने सहज हुन्छ। सुरुङ मार्ग बनेपछि सिटी बसबाहेक अरु गाडी यहाँ प्रवेश गर्न दिनुहुँदैन। त्यसो भएन भने यहाँ त सवारी चाप बढेको बढ्यै हुन्छ।'

सडक विस्तारका क्रममा २०३३ सालको मापदण्डका कारण बनेका पुराना घरहरु भत्‍किएको भन्दै अब काठमाडौंका लागि नयाँ अवधारण आवश्यक रहेको बताए। भने, 'नयाँ शहरको कल्पना गर्ने हो भने काठमाडौं भन्दा बाहिर गर्नुपर्छ। काठमाडौंका पुराना वस्तीहरुलाई संरक्षण गर्नुपर्छ। २०३३ सालको कुराले अहिले आएर धेरैलाई दु:ख दिएको छ। त्यसैले सबै बाटोको निश्चित मापदण्ड तोकेर शहरको विकास गर्न सकिन्छ। नत्र त यो बाटो सानो भयो भनेर सरकारले जहिले आएर भत्काउन सक्नेभयो।'

विस्तारका क्रममा रुहेको चक्रपथको बारेमा पनि उनले सुनाए। 'चीन सरकारको अनुदानमा रिङरोड बन्दैछ। रुख काट्न, पोल हटाउन मात्रै ६ महिना लाग्छ रे। मैले त्यसको कारण मागेको छु। सुरु गर्ने तर अलपत्र पार्ने काम गर्नु भएन। एकातिर धुलो उडिरहेको छ। यसरी भएन,' उनी भइरहेको कामप्रति असन्तुष्ट सुनिए।

मन्त्रालयमा फलो अप नहुँदा भइरहेको कामका बारेमा सरकार आफै अनभिज्ञ हुनुपर्ने अवस्था रहेको बताउँदै 'फलो अप कल्चर' विकास गर्ने उनको दावी छ। मन्त्रीहरुले आफ्नो मन्त्रालय अन्तर्गत भइरहेको काम को 'फलो अप' गर्नुपर्ने भन्दै मानन्धरले राज्यमन्त्रीको हैसियतमा भइरहेका कामहरुको फलोअप गर्ने दाबी गरे।

भने, 'बजेट खर्च भइरहेको छ कि छैन? त्यो मन्त्री भएर हामीले फलोअप गर्नुपर्‍यो। बजेटमा रहेको विकासका परियोजनाहरु चौमासिक रिपोर्टमा आउनुपर्छ। काम नभएपछि मन्त्रीले त्यसको उत्तर दिनुपर्छ। त्यसपछि मन्त्री जवाफदेही हुन्छ। उपत्‍यकामा भइरहेका कामहरुको कम्तीमा हप्तामा एकपटक रिपोर्टिङ गरे पनि हामी राम्ररी काम गर्न सक्छौं। वाग्मती करिडोरमा भइरहेको काम सकिन सक्छ,' उनले भने।

आयल निगमले किनेको जग्गाका विषयमा आफूले 'स्ट्यान्‍ड' लिँदा धेरै प्रेसर सहेको तर गतल कामलाई गलत भन्न पछि नपरेको बताउँदै उनले अब मन्त्रीका रुपमा गलत काम हुन नदिने आश्वासन दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell