PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

दक्षिण एसियाली खेलकुद : महिला भलिबल टोलीले आज बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दै



पहिलोपोस्ट

दक्षिण एसियाली खेलकुद : महिला भलिबल टोलीले आज बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दै

काठमाडौं : दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा नेपालले आज बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ।

पहिलो खेलमा बंगलादेशलाई सोझो सेटमा हराएको नेपालले दोस्रो खेलमा भारतको सामना गर्नेछ। बंगलादेशसँगको जित पछि कुरा गर्दै महिला टिमका प्रशिक्षक जगदीश भट्टले भारत बलियो टोली भएकाले कम्पिटिसन पनि ठूलै हुने बताए।

'दोस्रो खेलमा भारतसँग खेल्नुछ। भारत दक्षिण एसियाकै एउटा उत्कृष्ट टिम हो। उसले लामो समययता खेल्दै आएको छ। उनीहरुसँग खेल्दा हामीले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो भूमिमा, दर्शकको माझमा उत्कृष्ट प्रदर्शन गर्ने छौं', प्रशिक्षक भट्टले भने, 'हिजोको खेलको उपलब्‍धिलाई कसरी संरक्षण गर्ने भन्नेमा हामी अलि प्रेसरमा छौं। त्यो प्रेसरलाई हामी सकारात्मक रुपमा परिवर्तन गरेर कोर्टमा राम्रो प्रदर्शन गर्नेछौं।'

नेपाल र भारतबीचको खेल त्रिपुरेश्वरस्थित कभर्डहलमा दिउँसो ५ बजेबाट शुरु हुनेछ।

हिजै भएको पहिलो खेलमा नेपाली महिला भलिबल टोलीले बंगलादेशलाई सोझो सेटमा हराएको थियो। त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा नेपालले बंगलादेशलाई पहिलो सेट २५-९ र दोस्रो सेट २५-९ ले जितेको थियो। त्यस्तै तेस्रो सेटमा भने २५-११ ले जित हात पारेको हो।

भलिबल प्रतियोगितामा नेपाल समूह 'ए' मा छ। समूह 'ए' मा नेपालसँगै भारत र बंगलादेश रहेका छन् भने समूह 'बी' मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स छन्।

पुरुष भलिबल टोलीले भने शुक्रवार भारतको सामना गर्नेछ।

सागको औपचारिक उद्घाटन मंसिर १५ गते भए पनि भलिबलका खेल त्यसअघि नै शुरु गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell