.jpg)
काठमाडौं : चिनियाँ नागरिकले नेपाली बैंकका एटिएम बुथबाट अनधिकृत पैसा झिकेपछि राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले संचारकर्मीलाई फोन गर्दै आग्रह गरेका थिए- 'आत्तिनु पर्ने अवस्था छैन। एक पटक समाचार लेखेर सहयोग गरिदिनु पर्यो।'
केन्द्रीय बैंकको आग्रहलाई सञ्चार माध्यमहरुले स्वीकार गर्दै 'आत्तिनु पर्ने अवस्था नभएको' समाचार सम्प्रेषित भयो।
त्यसपछि कृषि विकास बैंकमा फेरि लुट काण्ड मच्चियो। बैंकको सर्भर छेडछाड गरेर पैसा चोरियो। फेरि निरौला सक्रिय भए- 'आत्तिनु पर्ने केही छैन।'
सञ्चार माध्यमले त्यसै गरे। किनभने यसमा सर्वसाधारणको खाताबाट पैसा झिकिएको थिएन।
अहिले फेरि १९ वटा बैंकबाट सर्वसाधारणको पैसा लुटिएको छ। फेरि पनि प्रवक्ता निरौला सक्रिय भएका छन् र भनेका छन् - आत्तिनु पर्ने अवस्था छैन।
के साँच्चिकै आत्तिनु पर्ने अवस्था नरहेकै हो त?
हामीले बैंकहरुका केही सुचना प्रविधि अधिकृतहरुसँग कुराकानी गर्दा उनीहरुले नेपाली बैंकहरु सूचना प्रविधिका हिसाबले एकदमै कमजोर रहेको स्वीकारे।
'यहाँको सिस्टम त जहाँसुकै बसेर ह्याक गर्ने अवस्था छ नै। आन्तरिक रुपमै पनि विभिन्न उपाय लगाएर पैसा झिक्न सकिने अवस्था छ,' एक अधिकृतले भने, 'नभए ६ महिनाका बीचमा ३/४ खाले फरक फरक घटना घट्दैन थिए।'
पछिल्लो घटनामा भने बैंकका कर्मचारीहरुको संलग्नताको आशंका गरिएको छ। बैंकहरुले खाता संख्या बढाउन यस बीचमा ज्यालादारीमा कर्मचारी भर्ना गरेका थिए। ती ज्यालादारी गर्नेले घरघरमा गएर खाता खोले।
त्यसरी घरघर जाँदा संकलन भएको कागजपत्र, फोटो, नागरिकताको प्रतिलिपि अहिले दुरुपयोग भएको एक बैंकरले बताए। राष्ट्र बैंकले पहिलो पटक बैंक खाता खोल्नेलाई १०० रुपैयाँ दिने सुविधा बैंकहरुलाई दिएपछि कतिपय बैंकले अभियान नै चलाएका थिए।
'अपरिपक्व हिसाबले बैंकिङ चल्दा अहिले समस्या आएको हो। प्रविधिमाथि छेडखानी गरेर हुने फ्रड त छाँडौं यहाँ सामान्य भन्दा सामान्य उपाय गरेर पनि बैंक लुटिन सक्ने अवस्था छ,' एक बैंकका प्रमुख कार्यकारीले भने, 'खाता खोल्न होस् या सञ्जाल विस्तार गर्दा, सामान्य अनुशासन पनि पालना गरिएको छैन।'
यसबीचमा केही बैंकले आक्रामक व्यापार विस्तार गरेका छन्। उनीहरु सञ्जाल विस्तार गर्दा खाता धेरैभन्दा धेरै खोल्नेलाई ६ महिनापछि स्थायी गर्ने नीति सुनाएका थिए। व्यवस्थापनको यस्तो अव्यवहारिक र अपरिपक्व निर्णयका कारण पनि ग्राहकको सूचना लिन गलत मान्छेहरुलाई सजिलो भएको बैंकरहरु नै बताउँछन्।
'भोलि बैंकमा खाता खोल्नै मान्छे डराउने अवस्था आयो। बैंकलाई दिएको आफ्नो जानकारी अर्कैले चोर्ने अवस्था देखियो यहाँ,' ती बैंकरले भने, 'बैंक भनेको विश्वासले चल्ने हो। यहाँ त बैंकहरुले आफ्नो अपरिपक्व नीतिका कारण विश्वास गुमाउन थाले। यहाँ २/४ वटा बैंकको वद्मासीको दोष सारा बैंकहरुले भोग्नु पर्ने अवस्था आएको छ।'
यसपालिको घटनामा ग्राहकले चेक बुझेको विवरण रहने ढड्डा पनि प्रहरीले फेला पारेको छ। बैंकभित्र सुरक्षित रुपमा रहनु पर्ने ढड्डा कसरी चोरी भयो?
'यसमा सरासर कर्मचारीको संलग्नता पुष्टि हुन्छ,' एक बैंकरले भने, 'बैंकको आन्तरिक नियन्त्रण प्रणाली कमजोर हुँदा विश्वास डगमगाउने अवस्था छ।'
आठ वर्षअघि फरक ढंगले बैंकिङ क्षेत्रमाथिको विश्वास डगमगाएको थियो। सञ्चालकहरुले मनपरी लगानी गर्ने, घरजग्गा खरीद बिक्रीमा केन्द्रित हुने, संस्थागत सुशासन पालना नगर्ने गर्दा बैंकहरु कमजोर देखिएका थिए। १७ वटा संस्था त समस्याग्रस्तमा परेका थिए त्यतिखेर।
अहिले भने बैंकको प्रणाली छेडछाड वा कर्मचारी मिलेमतोमा पैसा लुटिन थालेको छ।
'यस्तो कुराले विश्वास संकटमा पर्छ,' एक पूर्व बैंकरले भने, 'यो घटना नै अन्तिम हो भन्ने त होइन। यस्ता घटना घट्दै जाने तर सुधारका लागि उपाय नगर्ने हो भने नेपाली बैंकिङले ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ।'
राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले सुचना प्रविधिमा बलियो हुनका लागि लगानी बढाउन निर्देशन दिइरहेका छन्। उनले नटेरेदेखि निर्देशन नै जारी गर्ने पनि चेतावनी दिएका छन्। यसैगरी बैंक कर्मचारीको दक्षता अभिवृद्धिका लागि तालिम कार्यक्रमहरु सञ्चालन गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ।
'राष्ट्र बैंकको निर्देशन यहाँ पालना भइरहेको छैन। तालिम नै पनि एक तहमा पुगिसकेका पहुँचवालाहरुले मात्र पाइरहेका छन्,' तालिम कार्यक्रमहरुमा सहभागी भइरहने एक प्रशिक्षकले भने, 'एउटै अनुहार दोहोरिन्छन्। तल्लो तहसम्मलाई तालिम चाहिन्छ भन्ने न्यूनतम ज्ञान पनि सिइओ'साबहरुमा छैन।'
घटना रोकिन सक्थ्यो
ती प्रशिक्षकले भनेजस्तै कर्मचारीलाई थोरै मात्र तालिम दिएको भए पनि अर्को चेक बनाउन लगाएर चोरी गर्ने घटना हुँदैन थियो।
यस घटनामा खातावाल बाहेकको मान्छे चेक बुक लिन गएको छ। तर, बैंकका कर्मचारीले चेक बुक लिन गएको मान्छे र खातावालको अनुहार 'म्याच' गरेनन्। खातामा भएको हस्ताक्षर ढड्डामा गर्न लगाए। ढड्डामा हस्ताक्षर मिलेपछि चेक दिएर पठाएका छन्।
'हस्ताक्षर मिल्नुपर्छ भनेर मात्र सिकाइएको छ,' ती प्रशिक्षकले भने, 'अन्य विवरण पनि हेर्नुपर्छ भन्ने ज्ञान दिइएको छैन। यदि चेक बुझ्न आउने र खातामा भएको मान्छेको फोटो म्याच गर्नु पर्छ भनेर सिकाएको भए अर्को चेक बन्दैन थियो।'