PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

'मातोश्री' मा फर्किँदै महाराष्ट्रको शक्ति : फोटोग्राफरदेखि मुख्यमन्त्रीसम्म उद्धवको यात्रा



'मातोश्री' मा फर्किँदै महाराष्ट्रको शक्ति : फोटोग्राफरदेखि मुख्यमन्त्रीसम्म उद्धवको यात्रा
फोटो: भास्कर

'मैले अमित शाहलाई भनेको थिएँ कि मैले बालासाहेब सँग वाचा गरेको छु। कि म महाराष्ट्रमा एक दिन शिवसेनाबाट मुख्य मन्त्री बनाएरै छोड्छु, तपाईँसँग मिलेर होस् या अरुसँगै।'  

शिवसेना प्रमुख उद्धव ठाकरे ले केही समय अघि दिएको एक अन्तर्वार्तामा यसो भनिरहँदा सायदै कसैले सोचेका थिए उनी महाराष्ट्रका मुख्यमन्त्री बन्नेछन्।

वाइल्ड लाइफ फोटोग्राफीमा रम्दै राजनीतिमा प्रवेश गरेका बालासाहेव ठाकरेका कान्छा छोरा उद्धव आज महाराष्ट्रको मुख्यमन्त्री बन्दैछन्।

लजालु स्वभावका ठाकरे ९० को दशकसम्म राजनीतिबाट टाढै थिए। उनी वाइल्ड लाइफ फोटोग्राफीमा आफ्नो भविष्य खोज्दै थिए। राजनीतिक विरासत सम्हाल्दा पनि ठाकरेले आफ्नो फोटोग्राफी कलालाई छोडेनन्। सन् २०१५ मा मात्रै उनले आफ्नो फोटोहरुको प्रदर्शनी गरेका थिए।  उनै ठाकरेको फोटोहरु आज महाराष्ट्रका गल्लीगल्लीमा टाँगिएका छन्।

भव्य समारोहबीच महाराष्ट्रका राज्यपाल भगतसिंह कोश्याराबाट 'फोटोग्राफर ट्रन्ड पोलिटिसियन' उद्धव शिवाजी पार्कमा मुख्यमन्त्री पदको सपथ लिँदैछन्।

महाराष्ट्रमा 'किङमेकर' को भूमिका निर्वाह गर्दै आएका ठाकरे परिवारका उद्धव पहिलोपटक 'किङ' बन्न  गइरहेका छन्। केही दिन अघिसम्म पनि उद्धव मुख्य मन्त्री बन्लान भनेर सायदै महाराष्ट्रवासीले सोचेका थिए। तर, निर्वाचन अगाडि भारतीय जनता पार्टी (भाजपा) ले शिवसेनालाई मुख्यमन्त्री बनाउँछु भनेर दिएको वचन तोडेपछि उद्धव सत्ता संचालनको यात्रामा निस्किएका हुन्।

उनले भनेका छन्, 'मलाई थाहा छ मुख्यमन्त्रीको कुर्सीमा धेरै काँडाहरु छन्। महाराष्ट्रको जनताको विश्वासले त्यस्ता अवरोधहरुको पार गर्दै हामी शिवाजी महाराजले कल्पना गरेको महाराष्ट्र बनाउनेछौं।'

आफ्ना बुबाको इच्छा पूरा गर्न उद्धवले दुष्मनलाई साथी बनाएका छन् भने ३० वर्षदेखि गठबन्धनमा रहेर सहयोग गर्दै आएको भाजपालाई दुष्मन बनाएका छन्। त्यसैले उनी अबको यात्रा सहज नभएको बताउँछन्।

भाजपासँगको सम्बन्ध बिग्रिएपनि उद्धवले आफ्नो सपथ ग्रहणमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफै फोन गरेको सहभागी हुन निमन्त्रणा दिएका छन्। यस्तै केन्द्रीय मन्त्रिमण्डलमा रहेका नेता तथा भाजपाका नेताहरुलाई समेत निमन्त्रणा गरिएको छ।

शिवसेनाले आफ्ना धेरैजसो कार्यक्रमहरु शिवाजी पार्कमा गर्ने गरेका छ। बाला साहेबको अन्तिम संस्कार पनि यही पार्कमै भएको थियो। त्यसैले पनि आज शिवाजी पार्क मा नै हुने सपथ ग्रहणलाई भव्य बनाउन पार्क सजाउने काम भइरहेको छ। पार्कमा ७० हजार कुर्सीहरु राख्ने तयारी गरिएको छ। महाराष्ट्रको सुरक्षा व्यवस्था कडा पारिएको छ। सपथ ग्रहण कार्यक्रममा भारतीय कांग्रस र राष्ट्रवादी कांग्रेस लगायतका गठबन्धन दलका वरिष्ठ नेताहरु सहभागी हुँदैछन्। यस्तै विभिन्न प्रदेशका मुख्यमन्त्रीहरु महाराष्ट्र पुगिरहेका छन्।

मातोश्रीबाट चल्छ 'ठाकरे सरकार'

ठाकरे परिवारको पुस्तैनी घर 'मातोश्री' बाट बाला साहेबले महाराष्ट्रको सत्ता समिकरणमा 'किङमेकर' को भूमिका खेलेका थिए। इन्दिरा गान्धीले भारतमा 'एमर्जेन्सी' लगाउँदा समेत बाला साहेबले मातोश्रीबाट चल्ने शिवसेनामाथि प्रतिबन्ध लगाउन गरिएको तयारी रोक्न सफल थिए। तर, बाला साहेवको निधनपछि शिवसेनाले भाजपाबाट मातोश्रीको त्यही भूमिकाको सम्मान भइरहेको देखिरहेको थिएन।

चार वर्ष अघि महाराष्ट्रमा शिवसेनासँगको गठबन्धनमा बनेको फंडणवीस सरकारले मातोश्रीको सम्मान गर्न नसकेको शिवसेनाको ठहर थियो। त्यसैले शिवसैनिकहरु मातोश्रीको सम्मान फर्काउन पर्छ भन्ने पक्षमा उभिएका थिए।

ढिलै भएपछि अब फेरि मातोश्री महारष्ट्रको शक्‍ति केन्द्र बन्ने निश्चित भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell