PahiloPost

Jun 16, 2025 | २ असार २०८२

हिरासतमा कुटपिट गरी मारेको किटानी जाहेरी परेपछि दुई प्रहरी जवान निलम्बित



रासस

डोटी : जिल्लाको जोरायल गाउँपालिका-१ गैरामा रहेको घण्टेश्वर प्रहरी चौकीमा कार्यरत प्रहरी जवानद्वय शङ्कर खड्का र दीपक सामन्तलाई जिल्ला प्रहरी कार्यालय डोटीले निलम्बन गरेको छ।

गत मंसिर ८ गते आइतवार जोरायल गाउँपालिका–४ घर भई कैलालीको गोदावरी बस्दै आएका २१ वर्षीय गाडी चालक गणेश पालीको घण्टेश्वर प्रहरीचौकीमा हिरासतमा रहेका बेला मृत्यु भएको विषयमा अनुसन्धान गर्न उनीहरुलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताए।

उनले भने, 'दुई जना प्रहरी जवानविरुद्ध कुटपिट गरेर मारेको भन्ने किटानी जाहेरी परेकाले आवश्यक अनुसन्धान गर्नका लागि निलम्बन गरी छानबिन गर्दैछौँ।'

मृतकका बुबा तिलकसिंह पालीले प्रहरी जवानद्वय खड्का र सामन्तले प्रहरी हिरासतमा रहेको आफनो छोरा गणेशलाई कुटेर मारेकोे भन्दै उनीहरुका नाममा कर्तव्य ज्यान शीर्षकमा किटानी जाहेरी दिएका छन्। सोही घटनाको सन्दर्भमा प्रहरी कार्यालयले दुवैलाई पक्राउ गरी निलम्बन गर्दै जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ। 

पाली डोटीको गैराका उद्धवसिंह सेठीको से १ ज २९२ नम्बरको जीपका चालक हुन्। शवलाई डडेल्धुरा अस्पतालमा आज परीक्षण गरी परिवारलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए। आरोपित प्रहरी जवानलाई पक्राउ गरी निलम्बन गरिएसँगै स्थानीयवासीले बुधवारदेखि गैरामा गरेको बन्दसमेत फिर्ता लिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell