PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

'कट्टु'भित्र सुन बोक्ने चिनियाँ नागरिक, जो पटक-पटक आइरहन्थे नेपाल



सविन ढकाल

'कट्टु'भित्र सुन बोक्ने चिनियाँ नागरिक, जो पटक-पटक आइरहन्थे नेपाल

काठमाडौँः बिहीबार राति ११ बजेतिर आठ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई चिनियाँ नागरिक पक्राउ परे।

विमानस्थलको स्क्रिन मेसिनमा उनीहरुमा शंकास्पद संकेत गरेपछि शरीर चेक गरिएको थियो। इएच ५८०७५९८ राहदानी भएका चेन इङचुहाङ र इएच ६५९६६३७ राहदानी बोकेका चेन क्युङहाङलाई विमानस्थलमा खटिएका प्रहरीले नियन्त्रणमा लिएका थिए।

शरीरका सबै लुगा खोलेर चेक गर्दा पनि केही भेटिएन। तर मेसिनले त्यही संकेत नै गरिरह्यो।

प्रहरीले पुनः चेक गर्‍यो। जब प्रहरीले दुई जनाको 'अन्डरवयर' चेक गर्‍यो त्यसपछि खुल्यो सुन तस्करीको धन्दा। उनीहरुले अन्डरवयरमा फल्सबटम बनाएर आठ किलो सुन ल्याएको भेटियो।

'सबैतिर चेक गर्दा केही भेटिएन पछि अन्डरवयरमा फल्सबटम बनाएर ल्याइएको रहेछ' विमानस्थल भन्सार कार्यालयका प्रमुख विष्णुराज ढकालले भने।

३३ किलो सुन प्रकरणपछि विमानस्थलमा सुरक्षा कडा बनाइएको थियो। त्यसयता पनि विभिन्न तरिका अपनाएर सुन तस्करी भइरहेको छ। यतिसम्म कि मलद्धार र जिब्रोमा लुकाएर समेत सुन ल्याइएको फेला परिरहेको छ।

उनीहरुले एक-एक केजीका आठवटा टुक्रा सुन अन्डरवयरमा लुकाएका थिए।

भन्सार कार्यालय र विमानस्थल प्रहरीले चार घण्टा लगाएर राति अनुसन्धान गरेको थियो। भाषाको समस्या हुँदा अनुसन्धानमा गाह्रो परेको भन्सार कार्यालयका प्रमुख ढकालले बताए।

'हामी र उनीहरुबीच भाषाको समस्या छ। दोभाषे भनेको समयमा नहुँदा समस्या आएको हो' भन्सार प्रमुख ढकालले भने।

सुन बोकेर नेपाल आएका उनीहरु यसअघि पनि पटक–पटक नेपाल आएको देखिएको छ। सन् २०१७ र ०१८ मा पनि उनीहरु नेपाल आएका थिए।

पक्राउ परेका दुबैलाई महानगरीय प्रहरी वृत्त गौशाला राखिएको छ। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell