PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रधानमन्त्री ओलीको आत्मविश्वास : अझै घटेको छैन गृहमन्त्री हुँदाको जोश



पहिलोपोस्ट

प्रधानमन्त्री ओलीको आत्मविश्वास : अझै घटेको छैन गृहमन्त्री हुँदाको जोश

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली हाल त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरसिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारत छन्।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाभन्दा धेरै सुधार आएको बताउँदै चिकित्सकहरुले अझै एक साता अस्पतालमै रहनुपर्ने बताएका छन्। उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमा सुधार आउन उनको आत्मविश्वासले निकै काम गरेको डा अरुण सायमिले बताए। उनले ओली गृहमन्त्री रहँदाको अवस्था पनि स्मरण गरे।

उनले भने, 'प्रधानमन्त्री गृहमन्त्री रहँदा हात्तिवनमा बस्नु भएको थियो। त्यहाँ मैले उहाँलाई निकै कन्फिडेन्ट देखेको थिएँ। अहिले पनि उहाँको कन्फिडेन्ट घटेको छैन।'

डा सायमिले प्रधानमन्त्री जस्तो आत्मविश्वासी व्यक्ति आफूले नदेखेको दाबी समेत गरे।

प्रधानमन्त्रीको निजी चिकित्सक दिव्या सिंहले एपेन्डिसाइटिसको अप्रेशन गर्नु अघिको केही घण्टाको ब्रिफिङ गरिरहँदा पनि प्रधानमन्त्रीको आत्मविश्वास झल्कन्थ्यो।

उनले सुनाइन्, 'प्रधानमन्त्रीलाई राति साढे एक बजेबाट पेट दुखेको रहेछ। उहाँले निको हुन्छ भन्दै त्यसलाई बेवास्ता गर्नुभयो। साढे चार बजेपछि मात्र एउटै कोठामा रहेको म्याडमलाई भन्नुभएछ। म्याडमले डक्टरलाई खबर गरौं भन्दा उहाँलाई राति किन दु:ख दिनु भन्नुभएछ।' 

बिहान दिव्या सिंहले अन्य कामका लागि फोन गर्दा मात्र प्रधानमन्त्रीलाई पेट दुखेकोबारे जानकारी पाएकी थिइन्।

सिंहका अनुसार प्रधानमन्त्रीले अस्पताल नगइ निवासमै उपचार गर्न आग्रह गरेका थिए। 

डाक्टर रमेशसिंह भण्डारीका अनुसार अस्पताल पुग्दा एपेन्डिसाइटिसको संक्रमण पेटमा फैलिइसकेको थियो। उनले भने, एपेन्डिसाइटिक्स फुटेर पेटमा संक्रमण भएको थियो। तर फुटेको भनेको चाहिँ बेलुन जसरी फुटेको भने होइन।

प्रधानमन्त्रीका निजी चिकित्सक सिंहका अनुसार प्रधानमन्त्री ओलीले खाना खान थालेका छन् भने श्वासप्रश्वास सामान्य रहेको छ।प्रधानमन्त्रीको मृगौला प्रत्यारोण गर्ने वा नगर्ने निर्णण भइनसकेको सिंहको भनाई छ।

मंगलवार प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको अप्रेशन गरिएको थियो। उनलाई संक्रमण हुन सक्ने खतरा रहेको भन्दै आइसियुमा राखिएको चिकित्सकहरुले जानकारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell