काठमाडौं : सरकारी कागजात कीर्ते गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले बिहीवार उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ओखलढुंगा जिल्ला रानीवन-७ घर भई हाल सामाखुसी बस्ने सबिन कुमार तोलाङ्गी, धादिङ नीलकण्ठ नगरपालिका-९ घर भई हाल महाराजगञ्ज बस्ने २६ वर्षीय मधुसुदन दवाडी र चितवन जिल्ला रत्ननगर-१६ पिठुवा स्थायी ठेगाना भई हाल सिनामंगल बस्ने ३४ वर्षीय अमृत सुर्खेती रहेको व्यूरोका एसपी बेलबहादुर पाण्डेले जानकारी दिए।
उनीहरुले नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन आयोग तथा विभिन्न राजनीतिक दलका कागजपत्रहरु कीर्ते गर्ने गरेको एसपी पाण्डेले बताए।
साथै, प्रहरी प्रधान कार्यालयमा तयार भएको प्रहरी रिपोर्टहरु, प्लस टूका एकेडेमिक ट्रान्सक्रिप्ट, प्रोभिजनल सर्टिफिकेट, माइग्रेसन सर्टिफिकेट, सशस्त्र प्रहरी बल बंगलामुखी विशेष कार्यदल गण हलचोकका विभिन्न प्रमाण पत्रहरु, नेपाल आर्मीका प्रमाण पत्रहरु, विभिन्न विद्यालयका मार्कसिटहरु, महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी रुगुम कुँवरको कीर्ते हस्ताक्षरसहितको लेटर प्याड पनि प्रहरीले उनीहरुको साथबाट बरामद गरेको छ।
स्टुडियो खोलेर कीर्ते कागजपत्र बनाएको पाइएको हो।'हामीले थप अनुसन्धान गरिरहेका छौं। उनीहरुसँग पहिलेको केही कीर्ते गर्ने गिरोहको पनि संलग्नता भएको आशका छ,' एसपी पाण्डेले भने।