
विराटनगर : सुनसरीको चतरा धामस्थित जगत गुरु कृष्णदासजी महाराज भनिने कृष्णदास गिरी विरुद्धको उजुरी प्रहरीले दर्ता गरेको छ।
बलत्कार प्रयासको उजुरी शुक्रवार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरीले दर्ता गरेको हो।
'उजुरी दर्ता भइसकेको छ। थप अनुसन्धान गर्दै छौं,' नेपाल प्रहरीका एक नम्बर प्रदेश डिआइजी ठाकुर ज्ञवालीले जानकारी दिए। एक महिलालाई बलत्कार गरेको आरोप उनीमाथि लागेको छ। महिलाले बलात्कार भएको उजुरी दिए पनि प्रहरीले शुरुमा उजुरी लिन मानेको थिएन।
त्यसपछि पीडित महिलाले महानगरीय प्रहरी परिसर काठमाडौं हुँदै केन्द्रीय अनुसन्धान व्यूरोमा उजुरी दिएकी थिइन्। तर, प्रहरीले उजुरी जिल्लामा नै फर्काएको थियो। गत कार्तिक ४ गते गिरीले आफ्नै अनुयायीको बलात्कार प्रयास गरेको आरोप लागेको छ। प्रहरीले अदालतबाट पक्राउपुर्जी लिएर पक्राउ गर्ने तयारी गरिरहेको छ।
'अनुसन्धान भइरहेको छ। केही कानुनी प्रकृया पूरा गर्नुपर्ने देखिएको छ,' जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माले भने।
महाराजको नागरिकताको प्रमाणपत्रसमेत झुठो र दोहोरो भएको आरोप लाग्दै आएको छ। केही साताअघि चतरा धामस्थित जगत गुरु बालसन्त मोहनशरण देवाचार्य चतराकै अर्का जगत गुरु कृष्णदासजी महाराजप्रति आक्रामक देखिएका थिए।
उनले पत्रकार सम्मेलनमा बालसन्तले कृष्णदासजी महाराजले दिनमा ९५ प्रतिशत झुठ बोल्ने गरेको आरोप लगाएका थिए।