कैलाली : कञ्चनपुरमा एक युवकको हत्या भएको छ। महाकाली नगरपालिका-३ का २२ वर्षीय दीपक पन्तको बिहीवार हत्या भएको हो।
बिहीवार बिहान ११ बजे बुबा बिसन पन्तसँगै मोटरसाइकलमा महेन्द्रनगर आइरहेको समयमा पन्तलाई युवाहरूको ग्याङले कुटपिट गरी हत्या गरेका हुन्।
महेन्द्रनगर-मझगाँउ सडक खण्डको भीमदत्त नगरपालिका-१८ गोबरैयामा ४ जनाको समूहमा रहेका युवालाई उनले ओभरटेक गरेका थिए। मोटरसाइकल र स्कुटरमा सवार ४ जनालाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल छोइएपछि उनीहरुले दीपकमाथि कुटपिट गरेका थिए।
कुटपिटका क्रममा चक्कुसमेत प्रहार गरेर गम्भीर घाइते भएका पन्तको उपचारका लागि भारत लैजाने क्रममा बेलुका ५ बजे बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नरेन्द्र बहादुर चन्दले जानकारी दिए।
‘घटनामा संलग्न ४ जनालाई हामीले पक्राउ गरिसकेका छौँ,’ उनले भने, ‘सामान्य मोटरसाइकल छोइएको आरोपमा मृतक दीपक पन्तमाथि चक्कु प्रहार भएको देखिएको छ।’
उनीहरू लागुऔषध प्रयोगकर्ता रहेको खुल्न आएको डिएसपी चन्दको भनाई छ।
‘समूहका केही व्यक्त अन्य आपराधिक क्रियाकलापमा फरार रहेका समेत प्रारम्भिक अनुसन्धानबाट खुलेको छ, हामीले यस विषयमा अनुसन्धान थालिसकेका छौँ,’ चन्दले भने।
घटनामा संलग्न रहेको आरोपमा १९ वर्षीय विनोद बोहरा, २२ वर्षीय मनिष नाथ, २० वर्षीय नवीन सिंह र २२ वर्षकै गणेश लुहारलाई पक्राउ गरिएको उनले जानकारी दिए। उनीहरू मध्य मनिष नाथ पहिले पनि पक्राउ परेर छुटेका व्यक्ति हुन्।