
सप्तरी : मादक पदार्थ सेवन गर्न हतियारसहित यहाँ आएका भारतीय नागरिकलाई एक वर्ष कैद सजाय सुनाइएको छ। बिहीवार जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलाशले भारत बिहारको सुपौल जिल्ला डगमाराग्राम पञ्चायत १२ कुनौली थाना सोनापुर बस्ने २२ वर्षीय रमेशकुमार मण्डललाई एक वर्ष कैद सजाय गरेको हो।
कैद सजायका साथै अदालतले १० हजार रुपैयाँ जरिवाना गरेको छ। छिन्नमस्ता गाउँपालिकामा रक्सी सेवन गरी हो-हल्ला गर्दै पैदल भारततर्फ गइरहेका मण्डलको शरीर जाँच गर्दा उनको कम्मरमा बाँधेको कटुवा पेस्तोल सशस्त्र प्रहरीले बरामद गरेको थियो।
उनीसँगै मादक पदार्थ खाने डगमारा ग्रामपञ्चायत १३ कुनौली थाना सोनापुर बस्ने ३० वर्षीय श्रवणकुमार साह भने फरार रहेका छन्। छिन्नमस्ता-३ गोविन्दपुरस्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट नजिकैबाट सशस्त्र प्रहरीले गत चैत २२ गते मण्डललाई पक्राउ गरेको थियो। जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलाशले मण्डल वैशाख १६ गतेदेखि पूर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन्।