PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

रंगभूमि मैदानमा भारतीय जन्तीलाई राष्ट्रपति भण्डारीको सम्मान

रंगभूमि मैदानमा भारतीय जन्तीलाई राष्ट्रपति भण्डारीको सम्मान

पहिलोपोस्ट /पहिलोपोस्ट


  • सुमित मिश्र -

जनकपुरधाम : विवाहपञ्चमी महोत्सवमा भारतको अयोध्याबाट आएका जन्तीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत तथा सम्मान गरेकी छिन्।

विवाहपञ्चमी महोत्सवमा सहभागी हुनका लागि आएका जन्तीको स्वागतमा जनकपुरधाम स्थित रंगभूमि मैदान (बाह्र बिगाह)मा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले जन्तीलाई दोसल्ला र फूलमाला लगाई सम्मान गरेकी हुन्। उनले ऋषि विश्वामित्रको भूमिकामा रहेका अयोध्याका सन्त रामेश्वर दासजी महाराज, दशरथको भूमिकामा रहेका कन्हैया दास, साध्वी राधा देवी, साध्वी निलम देवी लगायतका जन्तीलाई सम्मान गरेकी थिइन्।

सोही मञ्चमा राष्ट्रपति भण्डारीलाई जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जनकपुरधामको रामानन्दद्वारको प्रतिक दिएर सम्मान गरे। राष्ट्रपति भण्डारीलाई जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले मिथिलाको पाग र फूलमाला लगाई सम्मान गरेका थिए भने जनकपुर उद्योग वाणिज्य संघले समेत जानकी मन्दिरको प्रतीक उपहार प्रदान गरेको थियो।

कार्यक्रम लम्बिएपछि राष्ट्रपति भण्डारी काठमाडौं फर्किएकी छिन्। उनले गर्ने भनिएको सम्बोधन स्थगित भएको छ।

सो कार्यक्रममा मिथिला नाट्य कला परिषदका कलाकारहरुले जानकी लीला नामक गीति नाटक प्रस्तुत गरेका थिए। कलाकारहरुले राम जानकीको विवाहसँग सम्बन्धित दृश्य नाटकमा देखाए।

यस अघि बिहान ११ बजेर २० मिनेटमा जनकपुरधाम पुगेकी राष्ट्रपति भण्डारीले जानकी मन्दिरमा पूजा अराधना गरेकी थिइन्। मन्दिरमै माता सीता र भगवान रामको प्रतीकका रुपमा रहेका किशोर किशोरीलाई उनले पूजा गरेकी हुन्।

कार्यक्रममा सहभागी रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विवाह पञ्चमी महोत्सवले पूर्वी सभ्यता र नेपाल भारतको सम्बन्धलाई अक्षुग्ण राख्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।

पर्यटन मन्त्री भट्टराईले विवाहपञ्चमीले नेपाल र भारतबीचको सम्बन्धलाई सेतुको रुपमा कायम राखेको बताए। उनले माता सीता र भगवान् रामको सम्बन्ध जस्तै नेपाल र भारतबीचको सम्बन्ध सदैव चीर स्थायी रहने बताए।

जनकपुरधामको विकासका लागि संघीय सरकारले प्रदेश र स्थानीय सरकारसँग मिलेर काम गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।

मन्त्री भट्टराईले पर्यटकको सहजताका लागि जनकपुरधामबाट पोखरा, पोखरबाट मुक्तिनाथसम्मको हवाई यात्रा सञ्चालन गर्न लागेको जानकारी समेत दिए। उनले मञ्चबाटै नेपालको पर्यटन भ्रमण वर्ष २०२० मा जनकपुरधामका साथै नेपालका अन्य स्थानको भ्रमण गर्न सबैलाई आग्रह समेत गरे।

त्यस्तै भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले नेपाललाई विश्वसमक्ष चिनाउनका लागि माता सीताको भूमिका महत्वपूर्ण रहेको बताइन्।



ट्रेन्डिङ पोस्ट

Ncell