PahiloPost

Nov 25, 2024 | १० मंसिर २०८१

वीरगंजका व्यापारी भन्छन्, 'दुई सातामा प्याजको भाउ ८० रुपैयाँमा झर्छ'



राधेश्याम पटेल

वीरगंजका व्यापारी भन्छन्, 'दुई सातामा प्याजको भाउ ८० रुपैयाँमा झर्छ'

वीरगंज : प्याजको भाउ दुई सातापछि प्रतिकिलो ८० रुपैयाँको हाराहारीमा आउने वीरगंजका तरकारी तथा फलफूल व्यवसायीहरुले बताएका छन्।

तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष विदुर गुप्ताका अनुसार अहिले वीरगंजमा १६५ देखि १८० रुपैयाँ सम्म बिक्री भइरहेको प्याज १५ दिनपछि करिब आधा घट्ने बताएका हुन्। भारतको नासिक र मध्यप्रदेशलगायत अन्य राज्यमा यस वर्ष लगाइएको प्याज बजारमा आउन थालेपछि हरेक दिन कम्तिमा ५ रुपैयाँको दरले प्याजको भाउ घट्दै जाने उनले अनुमान गरेका छन्।

गएको वर्षात महिनामा भारतको मध्यप्रदेश र नासिकमा बाढी आउँदा किसानले भण्डारण गरेको प्याज ठूलो परिमाणमा कुहिएर नष्ट भएको थियो। जसले गर्दा भारतमा माग बमोजिम प्याज नपाएपछि भारत सरकारले विदेशमा निर्यात गरिने प्याजमा प्रतिबन्ध लगायो। सोही कारण अहिले नेपालमा प्याजको भाउ उच्च भएको व्यावसायी बताउँछन्।

पर्सा, बारामा आलु केही मात्रामा उत्पादन हुने तर प्याज न्यून मात्र उत्पादन हुने भएकोले वीरगंजमा प्याजको माग उच्च छ। साथै भारतबाट भित्रिने प्याज र आलुको भरमा वीरगंज, कलैया, जीतपुर, सिमरा, निजगढ, रौतहट, लालबन्दी, हेटौंडा, भरतपुर, काठमाडौं, पोखरालगायतका शहरहरु पनि निर्भर छन्। यी शहरहरुमा प्याजको भाउ २५० रुपैयाँ भन्दामाथि पुगेको उनले बताए।

भारतबाट प्याज ल्याउन अहिले क्यारिङबाट वीरगंज भन्सारमा जम्मा गरी भन्सार कटाएर ल्याइँदैछ। त्यसकारण प्याजको भाउ थोकमा १६० रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको छ।

अध्यक्ष गुप्ताले भने, 'सोही दाममा वीरगंजबाट अन्य शहरमा प्याज लगेर ढुवानी र ज्याला खर्च जोड्दा प्याजको भाउ महँगो भएको हो। प्याजको भाउ बढेपछि कतिपय सर्वसाधारणहरुले प्याजको हरियो पात (सन्डा) प्रयोग गर्दैछन् भने होटलमा पाइने खानेकुरा तथा परिकारहरुमा प्याजको मात्रा पातलिएको छ।'

मागको तुलनामा हरियो तरकारीको खपत अत्यधिक हुने भएकोले तरकारीको मूल्य आकाशिएको व्यवसायी बताउँछन्। अध्यक्ष गुप्ताका अनुसार अहिले वीरगंज बजारमा काउली थोकमा ५५ तथा खुद्रामा ७० रुपैयाँ, भेन्टा थोकमा ३० तथा खुद्रामा ४० रुपैयाँ, हरियो केराउ थोकमा एक सय तथा खुद्रामा १२० रुपैयाँ, परवल थोकमा ६० तथा खुद्रामा ७० रुपैयाँ, गोलभेंडा थोकमा ६० तथा खुद्रामा ८० रुपैयाँको दरमा बिक्री भइरहेको छ। वीरगंज नाका भएर अहिले करिब तीन गाडी प्याज अर्थात ३० टन र ५ गाडी अर्थात ५० टन आलु भारतबाट आइरहेको छ।

व्यवसायीले सर्वसाधारण तथा किसानले आफ्नो करेसाबारी तथा खेतमा तरकारी उत्पादन थाले बजारमा हरियो तरकारीको माग कम भएर मूल्य स्वतः घटेर जाने भएकोले त्यस तर्फ सोच्न उनले आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell