PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

दक्षिण एसियाली खेलकुद : समूह चरणबाटै बाहिरियो नेपाल, यसपटक पनि तुहियो पदकको सपना



मुकुन्द घिमिरे

दक्षिण एसियाली खेलकुद : समूह चरणबाटै बाहिरियो नेपाल, यसपटक पनि तुहियो पदकको सपना

काठमाडौं : दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलमा नेपालको पदक ल्याउने सपना यसपटक पनि अधुरै रह्यो। आज भएको खेलमा भारतसँग पराजित भएसँगै नेपाल सेमिफाइनल नपुग्दै प्रतियोगिताबाट बाहिरिएको हो।

आजको खेलमा नेपालले फितलो प्रदर्शन गर्दै भारतसँग ३-० को सोझो सेटमा पराजित भयो। पहिलो सेटमा १५-२५ ले पछि परेको नेपालले दोस्रो सेटमा १३-२५ ले गुमाउन पुग्यो। खेलमा भारतीय खेलाडीलाई उचाईले साथ दिइ रहेको थियो भने नेपाललाई समर्थकले।

बंगलादेशसँगको खेलमा जस्तै आजको खेलमा पनि नेपाली टिमको सर्भिसमा समस्या देखिएको थियो। तेस्रो सेटमा भने नेपालले राम्रो खेल प्रदर्शन गरेको थियो। अघिल्ला सेटमा भारतले शुरुबाटै लिड गरे पनि यो सेटमा भने भारत तुलनात्मक रुपमा धेरै हाबी हुन सकेन।

सेटको अन्तिमतिर भने भारतले लगातार प्वाइन्ट ल्याएको थियो। र, तेस्रो सेट नेपालले १६-२५ ले गुमाउन पुग्यो।

यसअघि अघिल्लो खेलमा पनि नेपाल बंगलादेशसँग पराजित भएको थियो। नेपाली टोली बंगलादेशसँग प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट नेपालले २५-२१ ले जितेको थियो भने दोस्रो सेटमा बंगलादेशले २३-२५ को सेटमा जित निकालेको। त्यस्तै तेस्रो सेटमा फेरि नेपालले पुनरागमन गर्दै २५-१९ ले खेल आफ्नो पक्षमा पार्दा चौथो सेट बंगलादेशले २४-२६ ले जितेपछि खेल थप रोमान्चक बनेको थियो। अन्तिम सेटमा भने शुरुबाटै अग्रता बनाएको बंगलादेशले १२-१५ ले जित निकाल्दै सागमा भलिबल यात्रा सुखद तय गरेको थियो।

नेपाल रहेको समूहबाट भारत समूह विजेता र बंगलादेश उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell