PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आज उपनिर्वाचन, वडादेखि प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै



सहयोग रञ्जित

आज उपनिर्वाचन, वडादेखि प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै
महोत्तरीको पिपरामा मतदान गर्दै। फोटो : सुमित मिश्र

काठमाडौं : रिक्त रहेका स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा सिटका लागि आज उपनिर्वाचन हुँदैछ। कूल ३७ जिल्लामा ५२ रिक्त पदका लागि हुने निर्वाचनका लागि २ सय ४७ मतदानस्थल तथा ५ सय ३७ मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ। सुरक्षालगायत अन्य तयारी पूरा गरेको आयोगले मतदातालाई ढुक्क भएर आफ्नो अमूल्य मत दिन आग्रह गरेको छ।

बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदाताले आफ्नो नाम भएको मतदान केन्द्रमा गएर मतदान गर्न सक्नेछन्। गत साउन १६ गते १८ वर्ष पूरा भई फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले यस निर्वाचनमा मतदान गर्न पाउनेछन्। मतदानका लागि मतदाता परिचयपत्र अनिवार्य गरिएको छ। मतदान केन्द्रको भित्री घेरामा नेपाल प्रहरी, बीचमा सशस्त्र प्रहरी र बाह्य घेरामा नेपाली सेना रहनेछ।

कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सांसदका लागि उपनिर्वाचन हुँदैछ भने भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ (क), बागलुङ निर्वाचन क्षेत्र नम्बर २ (ख) र दाङको निर्वाचन क्षेत्र नम्बर ३ (ख) मा प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ।

उपनिर्वाचनमा ४४ स्थानीय तहका ४८ पदका निर्वाचन हुँदैछ। उपमहानगरपालिकाको प्रमुख–१, गाउँपालिकाका अध्यक्ष–३, गाउँपालिकाका उपाध्यक्ष–१ र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष–४३ का लागि निर्वाचन हुन लागेको हो।

कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा १० राजनीतिक दल र ११ स्वतन्त्र गरी २१ उम्मेदवार मैदानमा छन्। तत्कालीन संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। कास्की क्षेत्र नं २ अन्तर्गत पोखरा महानगरपालिकाको ११ वडाका ७१ हजार ८७१ मतदाता छन्। ती मतदाताकाले ८२ मतदान केन्द्रबाट मतदान गर्नेछन्।

भक्तपुर प्रदेश १ (क) मा प्रदेश सभाका लागि उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनलाई मध्यनजर गर्दै शुक्रवार राति देखि शनिवार बेलुकी ९ बजेसम्म मतदान हुने स्थानमा सवारी चलाउन रोक लगाइएको छ। २०७४ मा भएको निर्वाचनमा तत्कालीन एमालेबाट निर्वाचित हरिशरण लामिछानेको मष्तिस्कघातका कारण निधन भएपछि रिक्त रहेको यो स्थानमा उपनिर्वाचन हुने लागेको हो।

यस्तै, दाङमा प्रदेश सभाका लागि उपनिर्वाचन हुँदैछ। दाङ क्षेत्र नं ३ को (ख) का लागि हुन लागेको निर्वाचनमा ३२ मतदानस्थल र ७७ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए।

प्रदेशसभाका लागि बागलुङ २ (ख) र बडिगाड गाउँपालिका–२ को वडाध्यक्षमा निर्वाचन हुँदैछ। उपनिर्वाचनका लागि मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। निर्वाचनका लागि २५ मतदानस्थलका ४५ मतदान केन्द्रमा गरी २१५ कर्मचारी खटिएका छन्। प्रदेशसभा सदस्य निर्वाचनका लागि ३७ हजार मतदाताले मताधिकार प्रयोग गर्नेछन्। प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको निधनपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो। बडिगाड गाउँपालिका–२ मा वडाध्यक्षका लागि एक हजार ७७५ मतदाताले मताधिकार प्रयोग गर्नेछन्। यस्तै वडाध्यक्ष विष्णुप्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमुख भएपछि उक्त पदमा उपनिर्वाचन हुने भएको हो।

चितवनको भरतपुर महानगरपालिका–१६ र खैरहनी नगरपालिकाको वडा नं ४ एवं ५ मा उपनिर्वाचन हुँदैछ। जिल्लामा उपनिर्वाचन हुने वडाहरुको मतदानदेखि गणनास्थलसम्म सिसी क्यामेरा राखेर निगरानी गरिने भएको छ। प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले मतदान केन्द्र रहेका मतदान केन्द्रमा सुरक्षा व्यवस्था मिलाइएको र सबै ठाउँमा सिसी क्यामेरा राखिएको बताए।

यस्तै पश्चिमी पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ को वडा अध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ। जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाका अनुसार मतदानलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ।

उपनिर्वाचनकै क्रममा बैतडीको दोगडाकेदार–४, सुर्नया गाउँपालिका–१ र पुर्चौडी नगरपालिका–४ मा उपनिर्वाचन हुँदैछ। सुर्नया गाउँपालिका–४ मा केदार मावि पिपलकोट र हुनैनाथ आधारभूत विद्यालय कपिन्ना मतदानस्थल तोकिएको छ। सुर्नया गाउँपालिका–१ को साविकको गाविस भवन गुर्केलीलाई मतदानस्थल तोकिएको भने पुर्चौडी नगरपालिका–४ को महादेव मावि सिवाबो र पहरौल मावि बाङ्गालाई मतदानस्थल तोकिएको छ।

कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनका लागि गोरखा माध्यमिक विद्यालयमा राखिएको मतदानस्थलमा दुई मतदान केन्द्र निर्धारण गरिएका छन्। एक हजार एक ९९ मतदाता रहेको वडामा पुरुष ५५९ र महिला मतदाता ६४० रहेका छन्। मतदानस्थलको सुरक्षका लागि १५० नेपाल प्रहरी र १५० कै सङ्ख्यामा सशस्त्र प्रहरीलाई खटाइएको छ ।

यस्तै, डोटी जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–२ मा वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचन हुँदैछ। निर्वाचनका लागि शारदा मावि मौवानगरदह, कोटान्जर मावि, कोटान्जर तथा साउदकडा माविलाई मतदानस्थल तोकिएको छ।

महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष र मटिहानी तथा वलवा नगरपालिकाका वडाध्यक्षका लागि हुन उपनिर्वाचन हुँदैछ। कूल २२ हजार ९२० मतदाताका लागि १९ मतदानस्थल र २९ मतदान केन्द्र तोकिएको छ। निर्वाचनमा हिंसात्मक घटना हुन नदिन मतदान केन्द्रमा आवश्यक सुरक्षा व्यवस्था मिलाइएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell