PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

ट्राफिक प्रहरीको निसानामा फलाम बोक्ने गाडी, भारतीयसँग सेटिङ, नेपालीसँग झमेला



राधेश्याम पटेल

ट्राफिक प्रहरीको निसानामा फलाम बोक्ने गाडी, भारतीयसँग सेटिङ, नेपालीसँग झमेला

वीरगंज : वीरगंज–पथलैया औद्योगिक कोरिडोरमा सञ्चालित डन्डी तथा स्टील उद्योगको कच्चा पदार्थ बोकेर ड्राईपोर्ट भन्सारबाट हिँडेका टेलर तथा ट्रकहरुले सधै ट्राफिक प्रहरीको झमेला खेप्नुपर्छ। कहिले कागजात ठीक भएन त कहिले क्षमता अनुसारको तौल बोकिएन भनेर ट्राफिक प्रहरीले चालकदेखि व्यवसायीहरुलाई दुःख दिने गरेका छन्।

हिजो राति ड्राईपोर्ट भन्सारबाट हिँडेको करिब ५० भन्दा धेरै फलाम बोकेका गाडीहरुलाई प्रदेश नं २ ट्राफिक कार्यालय पथलैयाले परवानीपुरबाट नियन्त्रणमा लियो। केही बेर चलान समेत खोसेको ट्राफिक प्रहरीले पछि त्यसै छाडेको थियो। प्रदेश ट्राफिक प्रहरी र पर्सा–बारा ट्राफिक प्रहरीले ओभरलोडको बहानामा व्यवसायीहरुसँग सेटिङ मिलाउन बेलाबेलामा दुःख दिने गरेको वीरगंजका ढुवानी व्यवसायी सन्जय गुप्ता बताउँछन्। उनका अनुसार पथलैया ट्राफिकले नारायणी स्पात, नारायणी रोलिङ मिल, भगवती स्टील, जगदम्बा इन्टरप्राइजेज, जगदम्बा स्टिल लगायत उद्योगमा जाने करिब ५० वटा गाडी रोकेर दिन भर दुःख दिएको गुनासो गरे। ‘गाडीलाई परवानीपुरमा रोकेर चलानको कागज ट्राफिक प्रहरीले लिएर पथलैया पुर्‍यायो, फलाम झारेर एसपी पथलैया कार्यालयमा कागज लिन जानु भने,’ उनले भने, ‘चलान र भन्सार छुट पुर्जी चालकसँग रहने कागजात हो। यसबाट के बुझिन्छ? ट्राफिक प्रहरीले के गर्न खोज्या हो?’

नेपाली ढुवानी व्यवसायीले भारतीय गाडी जति लोड गरी आए पनि नरोकिने गरेको बताए। ‘पहिलेदेखि सेटिङ भएको हुन्छ, नेपालीसँग पैसा असुल्न बेलाबेलामा दुःख दिने गर्छन्,’ एक अर्क व्यवसायीले बताए।

प्रहरी चौकी परवानीपुरका ट्राफिक प्रहरी नायब निरीक्षक दिलिप यादवले प्रदेश ट्राफिक कार्यालय पथलैयाको निर्देशनमा ओभरलोडेड गाडीको चेकमा कडाई गरेको बताए। उनले व्यवसायीहरुसँगको बार्गेनिङ र सेटिङको कुरा निराधार रहेको दावी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell