PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सबैतिर मतदान सुरु, भक्तपुरमा प्रमुख निर्वाचन आयुक्तको अनुगमन



रासस

सबैतिर मतदान सुरु, भक्तपुरमा प्रमुख निर्वाचन आयुक्तको अनुगमन

  • नारायण न्यौपाने –

भक्तपुर : प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदको उपनिर्वाचनका लागि आज बिहान सात बजेदेखि मतदान शुरु भएको छ।

मतदानका लागि सम्पूर्ण आवश्यक तयारी पूरा भएको र भरपर्दो व्यवस्था मिलाइएको हुँदा कुनै शङ्का, डर र त्रासमा नपरी निर्धक्क भएर मतदानमा सरिक हुन सम्पूर्ण मतदातालाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आह्वान गरेका छन्।

उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सुरक्षा निकायको समन्वय र सहभागितामा उपनिर्वाचन लक्षित भरपर्दा एकीकृत सुरक्षा योजना बनाइएको छ । प्रतिनिधिसभातर्फ २१, प्रदेशसभा सदस्य तर्फ ४३ र स्थानीय तहका विभिन्न पदका लागि २७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस उपनिर्वाचनमा ४ लाख ५४ हजार ११४ जनालाई मतदान गर्न पाउने मताधिकार छ।

अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने उचित प्रबन्ध मिलाउन पनि आयोगले सबै मतदान अधिकृतलाई निर्देश गरेको छ। निर्वाचन कानूनले अनुमति दिएका उम्मेदवार, मतदाता, व्यक्ति वा अधिकारीबाहेक अन्य कुनै पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश नगर्न सुझाव दिँदै आयोगले मतदाताले स्वतन्त्र र विवेकपूर्ण ढङ्गबाट मतदान गर्न पाउने नैसर्गिक अधिकारको सम्मान गर्न र सहज वातावरण तयार गरिदिन अनुरोध गरेको छ।

कास्की–२ मा प्रतिनिधिसभा सदस्य, भक्तपुर, बागलुङ र दाङमा प्रदेशसभा सदस्य तथा धरानमा उपमहानगरपालिकाको प्रमुख पदका लागि उपनिर्वाचन हुन लागेको हो। पाँचथरको फाल्गुनन्द गाउँपालिका, सङ्खुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि पनि उपनिर्वाचन हुँदैछ। हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो।

यसैबीच भक्तपुरको चाँगुनारायण–२ दुवाकोट मतदान केन्द्रमा भएको मतदानको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अवलोकन गरेका छन्। उपनिर्वाचनको अवलोकनका लागि भक्तपुरका मुख्य निर्वाचन अधिकृत जगत्नारायण प्रधानले यहाँ हुने निर्वाचनका लागि गरिएको आवश्यक तयारीबारे प्रमुख निर्वाचन आयुक्त थपलियालाई जानकारी दिए। उपनिर्वाचन अवलोकनका लागि कूटनीतिक नियोगका प्रमुखहरु मतदान केन्द्र आइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell