पोखरा : प्रतिनिधिसभा निर्वाचनका कारण सबैभन्दा केन्द्रमा रहेको कास्की क्षेत्र नम्बर २ मा बिहान ७ बजेदेखि नै मतदान सुरु भएको छ। सबै मतदान केन्द्रमा बिहानैदेखि मतदाता उपस्थित भएका छन्।
पोखराको नयाँ बजार क्षेत्रमा भने केही समय मतदान अवरुद्ध भएको छ। यहाँ बुथ रहेको नव प्रभात माध्यामिक विद्यालय नजिकै खुला ठाउँमा भएको विस्फोटका कारण २० मिनेट मतदान अवरुद्ध हुन पुगेको थियो। तर, फेरि मतदान सुरु भइसकेको छ।
कास्की क्षेत्र नं २ मा ३२ मतदानस्थलका ८२ मतदान केन्द्रमा तोकिएको समयबाटै मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले जनाएका छन्।
विस्फोट लगायतको घटनाले एक किसिमको त्रास पैदा गरेको भए पनि मतदानस्थलको सुरक्षा व्यवस्थालाई थप कडा बनाइएको छ।
हेलिकप्टर दुर्घटनामा निधन भएका रवीन्द्र अधिकारीको स्थानमा निर्वाचन भइरहेको हो। ७१ हजार ८ सय ७१ मतदाता रहेको यस क्षेत्रमा अहिलेकै रफ्तारमा मतदान हुने हो भने तोकिएको भन्दा अघि नै निर्वाचन सम्पन्न हुनेछ।