PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कास्कीको उप निर्वाचन, टाउकोमा चोट, खुट्टामा दुखाई : एउटा क्षेत्रमा चुनाव हुँदा सिंगै जिल्ला प्रभावित



विष्णु गौतम

कास्कीको उप निर्वाचन, टाउकोमा चोट, खुट्टामा दुखाई : एउटा क्षेत्रमा चुनाव हुँदा सिंगै जिल्ला प्रभावित

पोखरा : कास्की क्षेत्र नम्बर २ मा अहिले प्रतिनिधिसभाका लागि मतदान भइरहेको छ। यस क्षेत्रमा ३२ मतदानस्थल मा ८२ मतदान केन्द्र तोकिएका छन्। यिनै मतदानस्थलबाट ७१ हजार ८ सय ७१ जनाले मतदान गरेर आफ्नो प्रतिनिधि छान्ने छन्। कास्कीका चार गाउँपालिका र एक महानगरपालिका मध्येमा कास्कीका क्षेत्र नं २ मा पोखरा महानगपालिकाका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र २३ वडाहरु समावेश छन्। तर, त्यो बाहेकका वडाहरु र गाउँपालिकाहरुमा पनि यो निर्वाचनको असर परेको छ।

सुरक्षा चुनौतीका कारण जिल्ला प्रशासन कार्यालयले कास्की जिल्लाका चारै तिरका नाकालाई कडा सुरक्षा सहित आउन जान प्रतिवन्ध गरेको छ। तर, पर्यटक र लामा दुरीका सवारीलाई भने प्रत्येक तीन तीन घण्टाको अन्तरमा स्कर्टिङ गरेर जिल्ला पार गराएको छ।

निर्वाचन क्षेत्रभित्र मात्रै सवारी र अन्य खालका नियमित गतिविधि प्रतिबन्ध भनिए पनि जिल्ला भरी नै त्यसको असर देखिएको छ। निर्वाचनको सुरक्षाका लागि नेपाली सेनाको सवारीहरु पनि हतियार सहित स्कर्टिङ गरिएको छ। जसको कारण बजारमात्र होइन सिंगो कास्की जिल्ला नै सुनसान छ।

मतदानका क्रममा पोखरा वडा न ९ मा रहेको नवप्रभात माध्यमिक विद्यालयको मतदान स्थल नजिकै बिहान बम विस्फोट भएको थियो। विस्फोटपछि आधा घण्टा मतदान स्थगित गरिएको थियो। त्यसपछि झन् सुरक्षा कडा पारिएको छ। लामो कपाल र रंग गरेको कपाल लगायतका असामान्य लाग्ने सर्वसाधारणलाई पनि विशेष निगरानी राख्दै सोधखोज गरिएको छ। अन्य निर्वाचन क्षेत्रमा चलाइएका सवारी साधनहरुलाई पनि साँझ छ बजेसम्मका लागि नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले सम्म चार सय भन्दा बढी सवारी नियन्त्रणमा लिइएको छ।

कास्कीको यस निर्वाचनमा ११ दलका र १० स्वतन्त्र गरी २१ जना चुनावी मैदानमा छन्। चुनावी प्रतिस्पर्धामा सत्तारुढ दल नेकपाबाट विद्या भट्टराई, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट खेमराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोमबहादुर भण्डारी, संघीय समाजवादी पार्टीबाट धर्मराज गुरुङ, साझा पार्टीबाट रजनी केसीको नाम दर्ता भएको छ।

विवेकशील नेपाली दलको तर्फबाट उम्मेदवारी दिएकी जमुना शर्माको नामसमेत स्वतन्त्रमा दर्ता भएको छ। यसैगरी नेपाल कम्युनिस्ट पार्टी (माले)का तर्फबाट टेकनाथ भण्डारी, नेपाली कांग्रेस (बीपी)का तर्फबाट चन्द्रबहादुर रानाभाट, राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट पूर्णबहादुर राना, देशभक्त समाजका तर्फबाट वीरबहादुर विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बाट गंगा मल्ल, मंगोल नेसनल अर्गनाइजेसनबाट रियाज गुरुङको उम्मेदवारी दर्ता भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell