PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

विद्यार्थी संगठनको विरोधपछि ठाकुरराम क्याम्पसमा आंशिक प्रध्यापकको नियुक्ति प्रक्रिया स्थगित



राधेश्याम पटेल

विद्यार्थी संगठनको विरोधपछि ठाकुरराम क्याम्पसमा आंशिक प्रध्यापकको नियुक्ति प्रक्रिया स्थगित

वीरगंज : वीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा हालै भएको ७ जना आशिंक उपप्रध्यापकको नियुक्ति प्रकृया स्थगित भएको छ। नियुक्ति प्रकृया पारदर्शी नभएको र अनियमिता भएको भन्दै विद्यार्थी युनियनले विरोध तथा हडताल शुरु गरेपछि स्थानीय प्रशासनले प्रक्रिया स्थगन गर्न निर्देशन दिएको छ।

जिल्ला प्रशासन कार्यालय पर्सामा बिहीवार साँझ प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईको अध्यक्षतामा बसेको बैठकमा विद्यार्थी संगठन र क्याम्पस प्रशासनबीच तीन बुँदे सहमति भएको थियो। जसमा तत्काललाई क्याम्पसमा हालै गरिएको आंशिक उपप्रध्यापकको नियुक्ति प्रक्रिया स्थगन गर्ने, नियुक्ति प्रक्रिया छानबिनका लागि त्रिभुवन विश्वविद्यालयको विज्ञ टोली बोलाउने, लेखा शाखामा काम गर्ने कर्मचारीले तीन तिरबाट तलब भत्ता खाने विषयमा छानविन अघि बढाउने तथा क्याम्पसको विभिन्न शाखामा विद्यार्थी संगठनबाट गरिएको ताला खुलाई पठनपाठनको वातारण बनाउने सहमति भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

क्याम्पसले मंसिर १० गते गरेको सूचनाको आधारमा राजनीतिक शास्त्रमा रितिका जैसवाल, बद्रीनारायण तिवारी, समाजशास्त्रतर्फ दिप्ती कटुवाल, नीलमकुमार साह, बिबिएको म्यानेजमेन्ट इन्फर्मेशन सिस्टम (एमआइएस) विषयतर्फ विजय कुशवाहा, वीरेन्द्रप्रसाद यादव, सञ्जय सक्सेनालाई नियुक्त गरेको जनाएको थियो। सोही सूचना आएपछि विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन शुरु गरेका थिए।

विरोध जनाउनेमा कांग्रेस नेविसंघ, राजपा निकट राष्ट्रिय विद्यार्थी संघ, ने क पा निकट अनेरास्ववियु, समाजवादीको समाजवादी विद्यार्थी युनियनलगायत थिए। 

नियुक्ति भएका बद्रीनारायण तिवारी नेविसंघका केन्द्रीय सदस्य समेत रहेका थिए। त्यस्तै दिप्ती कटुवाल हालका सहायक क्याम्पस प्रमुख रोशन लामिछानेकी पत्नी हुन्। नियुक्ति लिनेहरू पनि क्याम्पस प्रशासनका व्यक्तिहरूको नातेदार रहेको विद्यार्थी संगठनहरूको आरोप छ। 

क्याम्पसका पूर्व स्ववियु सभापति तथा समाजवादी पार्टीका नेता मुकेश द्विवेदीले क्याम्पसको इतिहासमा अहिलेसम्म गुपचुप हिसाबले आफन्तजनलाई नियुक्ति गरेको घटना सार्वजनिक भएको बताए। उनले क्याम्पसमा प्रशासन शाखासहित अन्य शाखामा तालाबन्दी गरिएको अवस्थामा क्याम्पस प्रमुखले आफनो घरमा बोलाएर अन्तार्वाता गरी नियुक्ति पत्र दिएकोले उक्त नियुक्ति प्रकृया बदर गर्न सुझाव दिए थिए। उनले नियुक्ति प्रक्रियाको छानबिन गरी केकस्तो प्रभावमा परी नियुक्ति गरिएको बारे सत्यतथ्य छानबिन गर्नुपर्ने माग गरे।

नियुक्ति प्रक्रिया सही छ : क्याम्पस प्रमुख

क्याम्पस प्रमुख प्रमोद कुशवाहाले तीनवटै विषयमा सातजनालाई प्रक्रिया पूरा गरी नियुक्ति गरिएको दाबी गर्छन्। उनले कात्तिक २९ गते स्थानीय पत्रिकामा सूचना जारी गर्दै आवेदन माग भएको र ६ गतेको अन्तर्वार्तापछि नियुक्ति भएको बताए। राजनीतिक शास्त्रतर्फ ३ जना, समाजशास्त्रतर्फ ३ जना र एमआइएसतर्फ तीन जनाको आवेदन परेकोमा राजनीतिक शास्त्र र समाज शास्त्रतर्फ १/१ जना वैकल्पिकमा रहेको उनले बताए।

अन्तर्वार्ताको प्राध्यापक छनोट समितिमा एमआइएस विषयमा क्याम्पस प्रमुखको संयोजकत्वमा प्रमोद गुप्ता, सञ्जय श्रेष्ठ, केदार साह रहेका थिए भने राजनीतिक र समाजशास्त्रको अन्तर्वार्तामा क्याम्पस प्रमुखको संयोजकत्वमा प्रमोद गुप्ता, नृसिंह महतो र डा विश्वम्भर शर्मा सदस्य थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell