
काठमाडौं : प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका लागि आज उपनिर्वाचन भइरहेको छ। बिहान ७ बजेदेखि जारी रहेको उपनिर्वाचनमा ६० प्रतिशत भन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार ४ बजेसम्ममा ६० प्रतिशत भन्दा बढी मतदान भएको हो।
३७ जिल्लाका रिक्त ५२ पदका लागि आज उपनिर्वाचन भइरहेको छ। कास्की क्षेत्र नम्बर २ का तीन स्थानमा बम विस्फोट भएको छ। बम विस्फोटपछि केहीबेर मतदान प्रभावित भएपनि मतदान जारी छ। अन्यत्र स्थानमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिनिधिसभा अन्तर्गत कास्की क्षेत्र नम्बर २, प्रदेशसभातर्फ बागलुङ २ (ख), भक्तपुर १ (क) र दाङमा ३ (ख)मा मतदान जारी छ।
त्यस्तै सुनसरीको धरान उपमहानगरपालिका प्रमुख, संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष, पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष , खार्पुनाथ हुम्लाको गाउँपालिकामा उपाध्यक्ष र ४३ वडाअध्यक्षका लागि मतदान जारी छ।