PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

गढीमाई मेलाको बलिस्थलमा मिडियालाई निषेध, खिच्न पाउने छैनन् फोटो



राधेश्याम पटेल

गढीमाई मेलाको बलिस्थलमा मिडियालाई निषेध, खिच्न पाउने छैनन् फोटो
गढीमाई मन्दिर।

वीरगंज : बारा, बरियारपुरमा ५ वर्षको अन्तरालमा एकपटक लाग्ने गढीमाई मेलामा यसपालि पनि श्रद्धालु भक्तजनहरूको भीड दिनानुदिन बढ्दैछ। पशुबलिको लागि राँगा मेलास्थलमा पुग्नेक्रमले पनि तीव्रता पाएको छ।

नेपाल-भारतको गाउँगाउँबाट भाकल गरेका भक्तजनहरूले टायरगाडा, ट्र्याक्टर तथा पैदलमार्फत विभिन्न ग्रामीण नाकाबाट राँगा गढीमाई मन्दिरभन्दा ५ सय मिटर पूर्वमा रहेको बलिस्थलमा पुर्‍याएका छन्।

बारा, प्रसौनीकी अनिता देवीले भाइ नहुँदा गढीमाईसँग भाकल गरेको बताइन्। भाइ जन्मिएपछि विगत दुईवटा मेलादेखि हरेक मेलामा दुईवटा राँगाको बलि दिँदै आएको उनले बताइन्। यसपाली मंसिर १७ गते राँगोको बलि र १८ गते बोका, हाँस, कुखुराको बलि दिने बताइएको छ। मेलामा हजार भन्दा बढि राँगा आइसकेको बताइएको छ।

बलिको फोटो, भिडियो खिच्न प्रतिबन्ध

पञ्चवर्षीय मेला व्यवस्थापन समितिले यस वर्ष बलिस्थलमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रकारलाई फोटो, भिडियो खिच्न निषेधित गरेको छ।

सञ्चारमाध्यममा आउने बलिको विभत्स फोटो र भिडियो सामग्रीले गर्दा वन्यजन्तु अधिकारवादी संस्थाहरू तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा नकारात्मक असर पर्ने भएकोले यस्तो नियम लगाइएको मेला समितिका मिडिया संयोजक मुकेश यादवले जानकारी दिए।

उनका अनुसार मेलाको बलिस्थलमा मेला समिति आफैँले व्यवस्था गरेको दुईवटा ड्रोन क्यामराबाट खिचेको फोटो र भिडियो सार्वजनिक गर्ने व्यवस्था मिलाइएको बताए। तर मन्दिर परिसरभन्दा एक किलोमिटर वरपरको क्षेत्रमा दिइने राँगा, हाँस, कुखुरा, खसीको बलिको फोटो खिच्न निषेधित नगरिएको उनले बताए।

मेला समितिका अध्यक्ष मोतीलाल कुशवाहाले बलिप्रथालाई निरुत्साहित गर्न यसपालि समितिले चार किसिमको व्यवस्था मिलाएको बताए।

सो व्यवस्था अनुसार स्वस्थ राँगाको मात्र बलि दिइने, रोगी, अस्वस्थलाई परीक्षणगरी बलिस्थलबाट निकालिनेछ। राँगा किन्न नसक्ने भक्तहरूले समितिलाई चन्दा रकम दान गर्न सक्ने जस्ता व्यवस्था मिलाइएको उनले जानकारी गराए।

समितिले हरेक मेलामा कहाँबाट कतिजना गढीमाईको मेलामा बलि दिन आउँछन् भन्ने यकिन तथ्यांक नभएकोले यसको नियन्त्रणमा कठिनाइ हुने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell