PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

अस्पतालको डिलक्स क्याबिनमा रहेका बलात्कार आरोपित सिद्धबाबाले भने : षड्यन्त्र गरियो, निरपराध छु



अनन्तराज न्यौपाने

अस्पतालको डिलक्स क्याबिनमा रहेका बलात्कार आरोपित सिद्धबाबाले भने : षड्यन्त्र गरियो, निरपराध छु

विराटनगर : सुनसरी चतराका सिद्धबाबा जगत गुरु कृष्णदासजी महाराजले आफू षडयन्त्रमा पारिएको दाबी गरेका छन्।

विराट नर्सिङ होमको डिलक्स क्याबिन नम्बर ५ मा भर्ना भएर तीन दिनदेखि उपचाररत सिद्धबाबाले पहिलोपोस्टसितको भेटघाटमा आफूविरूद्ध नियोजित रूपमा षडयन्त्र भएको बताएका हुन्।

‘मेरो अङ्गरक्षकका रूपमा २४ घण्टा नै हवल्दार तहको प्रहरीको ड्युटी हुन्छ, मेरा वरिपरि पुरुष साधक निरन्तर बसी नै रहेका हुन्छन्,’ सिद्धबाबाले भने, ‘मैले त्रिदण्ड धारण गरेर जगत गुरु उपाधि लिएपछि अग्नि र स्त्रीलाई छुँदै नछुने व्रत लिएको छु। न पुरुष, न स्त्री, एकान्तमा मैले कसैलाई भेट्न र कुराकानी गर्न मिल्दैन। यस्तो सदाचारी र संयमी मलाई लाञ्छना लगाउने काम भएको छ।‘

उनलाई दुर्व्यवहारको आरोप लगाउने महिलालाई देख्तै नदेखेको उल्लेख गर्दै कृष्णदासजीले आफ्नो नामको फेसबुक कार्यालयका सहयोगीहरूले सञ्चालन गर्ने र त्यसका बारेमा जानकारी दिने गरेको बताए।

‘ती महिला कहिलेकाहिँ हाम्रो आश्रममा आउने गरेको मलाई पछि थाहा भयो, फेसबुकमा उनले बारम्बार म्यासेज पठाउने गरेको कुरा पनि बुझियो,’ उनको भनाइ थियो, ‘हाम्रो आश्रमका शिष्यलाई ती महिलाले ‘मलाई महाराजजीसित एक्लै भेट्टाइदिनूस्, म महाराजजीसित एकान्तमा एक्लै दीक्षा लिन्छु’ भनेर बारम्बार भनेकी रहिछन्। आश्रमका मित्रहरूले ‘यस्तो हुनसक्तैन र महाराजजी महिलाहरूलाई चरण पनि छुन दिनु हुन्न’ भनेर सम्झाएका रहेछन्। त्यसपछि पनि ती महिलाले अनेक तरहका म्यासेज फेसबुक म्यासेन्जरमा पठाइरहेपछि मेरो कार्यालयका सहयोगीले उनको फेसबुक ब्लक गरिदिएका थिए।’

कार्यालयका सहयोगीहरूले ‘गुरुप्रतिको मर्यादा यस्तो हुन सक्तैन, यसो नभन्नूस्, यस्ता म्यासेजहरू नपठाउनूस्, तपाईंलाई यस्तो शोभा दिँदैन’ भनेर निरन्तर सम्झाएको चर्चा गर्दै कृष्णदासजीले ती महिला कहाँकी र कुन पृष्ठभूमिकी हुन् भनेर आफूले पहिले थाहा नपाएको स्पष्ट पारे।

‘हाम्रो आश्रममा आउने जाने भक्तको ताँती लागिरहन्छ,’ आश्चर्य व्यक्त गर्दै उनले थपे, ‘सेतो टीका लगाएर सीताराम भनेपछि आश्रमवासी र अन्य भक्तले पनि आफ्नै परिवारको ठान्छन्। तर ती महिला मखुन्डो लगाएर षडयन्त्र गर्न आएकी रहिछन्।’

‘एक महिनाअघि चार–पाच सय भक्तको टोली लिएर ताप्लेजुङको पाथीभरा मन्दिरमा जाँदा ती महिला पनि मिसिएर पुगेकी रहिछन्,’ कृष्णदासजीले भने, ‘त्यसपछि उनले १ महिनाको समय दिएर आफू मर्ने सम्मको धम्की दिएकी रहिछन्।’

ती महिलाले पठाएका म्यासेजको पिडिएफ फाइल बनाएर १ महिनाअघि नै उनीविरूद्ध साइबर क्राइममा मुद्दा दर्ता गरिएको र यसपछि उनी आत्तिएर आफू फँस्ने डरले प्रहरीमा दुर्व्यवहारको जाहेरी दिएको सिद्धबाबाको प्रतिक्रिया थियो।

ती महिलाले ‘कि आश्रम बन्द गर, कि ६० लाख रुपैयाँ देऊ’ भन्ने सम्मको बार्गेनिङ गरेको आरोप लगाउँदै कृष्णदासजीले उनका पति पनि आफूलाई फसाउन सुनियोजित ढङ्गले लागेको चाल पाएको उल्लेख गरे।

महिला हिंसा र दुव्र्यवहारका विरूद्ध नेपाल सरकारले बनाएको कडा कानुनले ‘महिला बम’ सिर्जना गरेको टिप्पणी गर्दै जगत गुरुले प्रश्न गरे, ‘२४ घण्टा प्रहरी हवल्दार र साधकहरू बीच घेरिएर बस्ने मलाई त यसरी फँसाइयो भने यो मुलुकमा को सुरक्षित छ?’

‘मैले राष्ट्रका लागि ठूला अभियान सञ्चालन गरेको छु,’ महाराजको भनाइ थियो, ‘जातपात, वर्ण, लिङ्गको भेदभाव नगरिने महायोगमा अधिकांश युवाको संलग्नता छ। सरकारले सङ्खुवासभाको खाँदबारीमा खोल्न लागेको आयुर्वेद विश्वविद्याय मेरै अवधारणाअनुसार आएको हो। मैले नेतृत्व गरेको पीठले प्रदेश सरकारसित मिलेर हरित अभियान सञ्चालन गरेको छ। यो सबै देखेर कसैलाई डाहा लागेको होला र अभियान नै तुहाउने हिसाबले षडयन्त्र गरिएको होला भन्ने मलाई लागेको छ।’

‘म निरपराध छु, सामुन्ने प्रत्यक्ष प्रस्तुत छु, जे छु अगाडि छु, म अदालतमा ससम्मान प्रस्तुत हुन्छु र अनुसन्धानलाई सहयोग गर्छु,’ पहिलोपोस्टलाई उनले भने, ‘खाएको विष लाग्छ, नखाएको लाग्दैन भन्ने कुरामा म विश्वस्त छु। त्यसैले रती पनि भयभीत र चिन्तित छैन।’

कृष्णदासजीले यही नोभेम्बर १ देखि ६ तारिखसम्म चीन सरकारको आयोजनामा भएको र ३० देशका साधक सहभागी भएको विश्व योगा सम्मेलनमा आफू प्रमुख अतिथि भएर गएको जानकारी दिँदै आफूले प्राप्त गरेको अन्तर्राष्ट्रिय उचाइप्रति कसैले डाहा गरेको हुनसक्ने आशङ्का प्रकट गरे।

दुई हप्ताअघि पत्रकार सम्मेलनमा आफूप्रति आक्रामक देखिएका अर्का जगत गुरु बालसन्तप्रति कृष्णदासजी विनम्र भावमा प्रस्तुत भए।

‘म जगत गुरु बालसन्तप्रति आभारी छु,’ उनको धारणा थियो, ‘मलाई चतरामा स्थापित गर्ने काम उहाँले नै गर्नुभएको हो। उहाँले सुरु गर्नु भएको कुम्भ मेलाप्रति मेरो सम्मान, सहयोग र समर्थन रहिरहनेछ। सबै योगी भारतमा मात्र बस्छन्। नेपालमा योगीलाई टिक्न दिइँदैन भन्छन्। मलाई पनि हिँड्ने बेलामा भारतका योगीले नेपालमा तँलाई अप्ठ्यारो पार्छन् भनेका थिए। यस्तो ठाउँमा बालसन्तजी बस्नुभएको छ र देशलाई गुन लगाउनु भएको छ। उहाँको भक्तिभाव र मैत्रीप्रति मेरो सम्मान छ।’

मुटु, ग्यास्टाइटिस, किड्नीमा पत्थरी र प्रोस्टेटको समस्या भएकाले अस्पताल भर्ना भएको उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell