PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

नेपाली महिला भलिबल टोली श्रीलंकालाई हराउँदै फाइनलमा

नेपाली महिला भलिबल टोली श्रीलंकालाई हराउँदै फाइनलमा

मुकुन्द घिमिरे/पहिलोपोस्ट


काठमाडौं : दक्षिण एसियायी खेलकुद साग अन्तर्गत महिला भलिबल टोली फाइनल प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा श्रीलंकालाई पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको हो।

आज त्रिपुरेश्वरस्थित कभर्डहलमा भएकाे खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा सुरक्षित गरेको हो।

नेपालले पहिलो सेट २५-१४ ले नेपालले आफ्नो पक्षमा पारेको थियो। पहिलो प्वाइन्ट नै सर्भिस मिस्टेक गरेर नेपाललाई अंक दिएको श्रीलंकाले यस्ता सामान्य गल्तीहरु थपिरह्यो जसले नेपालको अंक बढ्न सघायो।

सुरुमा बराबरीमा चलिरहेको पहिलो सेटको अन्तिमतिर नेपाल पूर्ण हावी देखिएको थियो।

दोस्रो सेट पनि सुरुबाटै प्रतिस्पर्धात्मक भएको थियो। यो सेटमा श्रीलंकाले बलियो चुनौती प्रस्तुत गरेको थियो र स्काेरकाे 'ग्याप' घटाउन पनि सफल भएको थियो। तर, पहिलो सेटमा जस्तै अन्तिम समयमा लगातार अंक दिए पछि १८/२५ काे अन्तरले खेल गुमाउन पुगेकाे थियाे।

तेस्राे सेट शुरू हुँदै गर्दा नेपाली खेलाडी उत्साहित देखिन्थे भने श्रीलंकन खेलाडी निरास। हुन पनि नेपाली महिला भलिबल टाेली दक्षिण एसियाली खेलकुदमा पहिलाे पटक फाइनल खेल्न लाग्दै थियाे। र, १ सेट बाँकी थियाे।

तर, तेस्राे सेट साेचे जस्ताे भएन। श्रीलंकाले सुरूवाती अग्रता लियाे। शुरूमा ५-२ ले पछि परेकाे नेपालले पुनरागमन गर्न सफल रह्यो। श्रीलंकाले खेलमा लिड गर्दै गर्दा खेल थप राेमाञ्चक बनेकाे थियाे। नेपालले ११ प्वाइन्टमा आइपुग्दा खेल बराबरी गरेकाे थियाे।

त्यसपछि खेलमा लिड गरेकाे नेपाल फेरि पछि परेन। याे सेटमा नेपालले २५-२१ ले जित हात पार्दै फाइनल यात्रा सुरक्षित गर्‍यो।

खेलको क्रममा दर्शकहरुको उल्लेखनीय उपस्थिति थियो। समर्थकहरु नेपालको झन्डादेखि ढोल बाजासम्म लिएर आएका थिए।

तर खेलका क्रममा दर्शक र भिआइपी अतिथिले समेत मोबाइलको फ्लास लाइट बालेर भिडियो खिच्दा खेलमा ब्यावधान समेत भएको थियो। खेल अवधिभर पटकपटक फ्लासलाइट निभाउन अनुरोध गर्नु परेको थियो।

जित निकाल्दै फाइनल पुग्ने लक्ष्यका साथ उत्रिएको नेपाली टिम उत्साहित देखिन्थे। त्यसमाथि समर्थकको तालीले थप उर्जा थपेको थियो। अझ दर्शकहरु त नेपालको खेल अगावै पहिलो सेमिफाइनलमा भरिएका थिए।

अहिलेसम्म दक्षिण एसियाली खेलकुदम कास्य पदक भन्दा माथि उठ्न नसकेको नेपाली टोलीलाई आज इतिहास बनाउने मौका हुने छ।

पहिलो खेलमा बंगलादेशलाई सोझो सेटमा हराएको नेपालले दोस्रो खेलमा भारतसँग सोझो सेटमै पराजित भएको थियो।

नेपाली टोलीले फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ। आजै भएको सेमिफाइनलको पहिलो खेलमा माल्दिभ्सलाई हराउदै भारत फाइनल प्रवेश गरेको थियो।

समूह ए को बिजेता भारतले समूह बी को उपबिजेता माल्दिभ्सलाई १४/२५,६/२५

र १७/२५ को सेटमा हराएको थियो। भारतले समूह चरणम नेपाल र बाङ्लादेशलाई सोझो सेटमा हराएको थियो।

नेपालले फेरि फाइनलमा बहियो प्रतिद्वन्द्वी भारतसग प्रतिस्पर्धा गर्नु पर्ने छ।



ट्रेन्डिङ पोस्ट

Ncell