PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

उपनिर्वाचन : सुदूरपश्चिमका ५ वडामा ने क पा र २ मा कांग्रेसको जित



एम बम

उपनिर्वाचन : सुदूरपश्चिमका ५ वडामा ने क पा र २ मा कांग्रेसको जित

कैलाली : सुदूरपश्चिममा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणना सम्पन्न भएको छ। अन्तिम मतपरिणाम अनुसार नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का उम्मेद्वारले ५ र नेपाली कांग्रेसका उम्मेद्वारले २ स्थानमा जित हासिल गरेका छन्। 

कञ्चनपुर, डोटी, अछाम, बाजुरा र बैतडीको पुर्चौडी नगरपालिका-४ मा ने क पाले जितेको हो। बैतडीको दोगडाकेदार-४ र सुर्नया गाउँपालिका-१ मा भने कांग्रेसका उम्मेद्वारले जितेका साबिकको क्षेत्रीय निर्वाचन कार्यालय तथा हालको जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले जानकारी दिए।

कसले कति मत ल्याए?

कञ्चनपुरको पुर्नवास नगरपालिका ३ मा ने क पाका कृष्ण बहादुर तामाङ विजयी भएका छन्। उनी ५ सय २८ मत ल्याउँदै विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका दिलबहादुर तामाङले ३ सय १० मत पाएका छन्। प्रजातन्त्र पाटी नेपालका पदमबहादुर शाहीले ७ र समाजवादी पार्टीका भीम बहादुर पाख्रिनले ७५ मत पाएका छन्। ४ मत भने बदर भएको छ।

डोटीको आदर्श गाउँपालिका-२ कालिका स्थानमा ने क पाकै उम्मेदवार रामबहादुर बोहरा विजयी भए। बोहरा ६ सय ६८ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका महादेव साउदले ६ सय ५६ मत ल्याए। राप्रपाका काशीराम ओझाले १४ र स्वतन्त्र उम्मेद्वार भूमिसिंह खड्काले १ सय ९१ मत प्राप्त गरेका छन्। ६० मत बदर भएको थियो।

अछामको मेल्लेख गाउँपालिका-५ मा ने क पाबाट उम्मेद्वार बनेका रमेश खड्का विजयी भए। उनी  ७ सय ७८ ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका वीरबहादुर बोहराले ५ सय ६३ मत प्राप्त गरेका छन्। यहाँ १५ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।

बाजुरामा जिल्लाको त्रिवेणी नगरपालिका १ छतारामा ने क पाका मनराज बुढा विजयी भए। कांग्रेसबाट उम्मेद्वार बनेका खगेन्द्र चदारालाई २० मतले पराजित गर्दै बुढा विजयी भएको मुख्य निर्वाचन कार्यालय बाजुराले जनाएको छ।

बुढाले ३ सय ६७ मत पाएका छन्। त्यस्तै कांग्रेसका खगेन्द्र चदाराले ३ सय ४७ मत, राप्रपाका मीनबहादुर नेपालीले २ मत र ११ मत बदर भएका छन्।

बैतडीका ३ वडामा २ मा कांग्रेस र १ मा ने क पा विजयी भएको छ। शनिवार राति सम्पन्न मतगणनामा दोगडाकेदार ४ मा कांग्रेसका सुरेन्द्रप्रसाद भट्ट, पुर्चौडी ४ मा ने क पाका शैलेन्द्र धानुक र सुर्नया गाउँपालिका १ मा कांग्रेसका गजेन्द्र बहादुर चन्द विजयी भएका हुन्।

अन्तिम मत परिणाममा दोगडाकेदार ४ मा विजयी भट्टले निकटतम प्रतिद्वन्द्वी ने क पाका नरेन्द्र प्रसाद भट्टभन्दा एक सय बढी भोट प्राप्त गरेर विजयी भए। कुल खसेको १ हजार ९८ मतमध्ये विजयी भट्टले ५ सय ८४ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी भट्टले ४ सय ८४ मत प्राप्त गरे। यस्तै राप्रपा संयुक्तका देवसिंह खत्रीले ६ मत पाए भने २४ मत बदर भयो।

पुर्चौडी नगरपालिका ४ मा ने क पाका धानुक १ सय ५ मत बढी लिएर विजयी भएका छन्। कुल खसेको १ हजार ३ सय ३० मतमध्ये विजयी धानुकले ६ सय ६३ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोविन्द बहादुर धामीले ५ सय ५८ मत प्राप्त गरे। यस्तै स्वतन्त्र उम्मेद्वार चन्द्रबहादुर बोहराले ३५ मत प्राप्त गरे। ७५ मत बदर भयो।

सुर्नया गाउँपालिका-१ मा कांग्रेसका उम्मेद्वार गजेन्द्रबहादुर चन्द विजयी भए। खसेका ४ सय ३८ मतमध्ये २ सय १९ मत प्राप्त गर्दै उनी विजयी भए। उनका प्रतिद्वन्द्वी ने क पाका धनबहादुर चन्दले २ सय १५ मत पाए भने ४ मत बदर भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell