PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

खेल तालिकाप्रति मालदिभ्स र श्रीलंकाका फुटबल प्रशिक्षक असन्तुष्ट : दिनैपिच्छे खेल हुनु प्रोफेसनल होइन



मुकुन्द घिमिरे

 खेल तालिकाप्रति मालदिभ्स र श्रीलंकाका फुटबल प्रशिक्षक असन्तुष्ट : दिनैपिच्छे खेल हुनु प्रोफेसनल होइन

काठमाडौं : सागमा सहभागी हुन आएको माल्दिभ्सको फुटलब टोलीका प्रशिक्षक पिटर सेगार्टले खेल तालिका हेरफेर र लगातारको खेलतालिकाप्रति असन्तुष्टि जनाएका छन्।

सागको फुटबलमा भारतले सहभागिता नजनाउने भएपछि तालिका हेरफेर गरिएको थियो। साथै उनले हरेक दिन खेल गराउनुलाई 'प्रोफेसनल' नभएकोसमेत आक्षेप लगाए।

'मैले प्रशिक्षकका रुपमा मेरा खेलाडीहरुलाई जोगाउनुपर्छ,' उनले भने, 'दिनैपिच्छे खेल खेल्नु प्रोफेसनल होइन।'

भारत सहभागी नहुँदैमा सेड्युल परिवर्तन गर्नुपर्ने आवश्यकता नै नरहेको तर्क गर्दै उनले यो विषयमा मिडियाको भूमिका हुने समेत बताए। भारत सहभागी नभए पनि त्यही 'सेड्युल'मा खेलाउन सकिने प्रशिक्षक सेगार्डको भनाइ थियो। उनले खेलाडीलाई ४८ घन्टा आराम आवश्यक पर्ने फिफाको मान्यता भएको भन्दै अन्तर्राष्ट्रिय स्तरका खेलहरुमा यस्तो नहुने बताए।

त्यस्तै माल्दिभ्सका कप्तान अक्रम अब्दुल गानीले 'दिनैपिच्छे खेल खेल्नु 'क्रेजी' हुनु जस्तै भएको प्रतिकृया दिए।

त्यस्तै श्रीलंकाले इन्जुरीको इस्यु उठाएको थियो। 'खेलाडी घाइते भए भने के गर्ने?,' श्रील‌ंकाका प्रशिक्षक  एमएन पकिर अलीले भने।

त्यस्तै  सेड्युलमा खेल लगातार भएको विषयप्रति उनले भने, 'यसबाहेक पनि हामीले लगत्तै तीन खेल खेल्न बाँकी छ। यो प्रोफेसनल अभ्यास होइन।'

के भए विवाद?

दक्षिण एसियाली खेलकुदका लागि दुईवटा खेल तालिका निकालिएको थियो। पहिलो तालिकामा भारतको नाम पनि समावेश थियो। तर, अन्तिम समयमा भारतले आफ्ना खेलाडीहरु क्लबमा खेलिरहेका र फिफाको खेल तालिकामा दक्षिण एसियाली खेलकुद नरहेको जस्ता कारण देखाउँदै साग अन्तर्गत फुटबलमा सहभागिता नजनाउने बतायो।

त्यसपछि एन्फाले अर्को खेल तालिका निकाल्यो। नयाँ तालिका अनुसार माल्दिभ्समात्र नभइ सबै टिमको ‘डे ग्याप’ छैन। डिसेम्बर २ मा फुटबलका २ खेल हुनेछन्। जसमा पहिलो खेलमा बंगलादेश र भुटान खेल्नेछन् भने दोस्रो खेलमा माल्दिभ्स र श्रील‌ंका भिड्ने छन्।

त्यस्तै डिसेम्बर ३ मा माल्दिभ्स र श्रीलंका तथा नेपाल र भुटान भिड्ने छन्। यसो हुँदा माल्दिभ्स, भुटान र श्रीलंकाको खेल लगातार पर्नेछ।

त्यस्तै डिसेम्बर ४ मा नेपाल र श्रीलंका मात्र खेल्नेछन्। यसो हुँदा नेपालको लगातार दोस्रो र श्रीलंकाको लगातार तेस्रो खेल हुनेछ।

डिसेम्बर ५ मा भुटान र माल्दिभ्स तथा श्रीलंका र बंगलादेश भिड्ने छन्। डिसेम्बर ६ मा भने नेपाल र माल्दिभ्स खेल्ने छन्। यस्तै डिसेम्बर  ७ मा श्रीलंका र भुटान खेल्नेछन् भने डिसेम्बर  ९ मा नेपाल र बंगलादेश खेल्नेछन्।

लगातार खेल भएको खण्डमा खेल प्रभावित हुन सक्ने भन्दै प्रशिक्षकहरुले असन्तुष्टि जनाएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell