भरतपुर : भरतपुर विमानस्थल आजदेखि १० दिन बन्द हुने भएको छ। विमानस्थलको धावनमार्ग मर्मतसम्भार गर्न आजदेखि मंसिर २४ गतेसम्म बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण भरतपुर विमानस्थल कार्यालयले जनाएको छ।
कार्यालयका प्रमुख पवनकुमार गौतमका अनुसार विमानस्थल १० दिन बन्द रहने सूचना जारी गरिसकिएको छ। धावनमार्गको ठाउँ-ठाउँमा खाल्डाखुल्डी परेकाले धावनमार्ग र पार्किङस्थल मर्मत सम्भारका लागि प्राधिकरणले ठेक्का लगाएको हो।
झण्डै २० वर्षदेखि विमानस्थलको धावनमार्गमा 'ओभरले' गरिएको थिएन। नेपाल भ्रमण वर्ष शुरु हुनुभन्दा अगाडि पर्यटकको कम चापलाई ख्याल गरेर यो समय छानिएको प्रमुख गौतमले बताए। विमानस्थल ओभरले गर्दा ६० एमएमको पक्की हुनेछ। रातिको समयमा चिसो मौसम भएकाले काम गर्न नसक्ने तथा दिउँसोमा विमानका कारणले काम गर्न असहज भएकाले बन्द गरेरै काम गर्ने अनुमति लिइएको प्रमुख गौतमको भनाइ छ।
धावनमार्ग ओभरले र पार्किङ क्षेत्र विस्तारका लागि चार करोड ४२ लाख ४७ हजार ७८८ रुपैयाँ लागत अनुमान गरिएको छ।
बैसठ्ठी बिघा क्षेत्रफलमा फैलिएको विमानस्थलको धावनमार्ग एक हजार २०० मिटर लामो र ३० मिटर चौडा छ। भरतपुरमा बुद्ध, यति र सिम्रिक एयरलाइन्सले उडान गर्ने गरेका छन्। भरतपुर-काठमाडौं दैनिक आठ र बुद्ध र यतिले भरतपुर-पोखरा एक/एक उडान गर्दै आएका छन्। विमानस्थलबाट दैनिक ८०० यात्रुले सेवा लिने गर्छन्।
भरतपुर विमानस्थल बन्द हुँदा मेघौलीमा साना जहाज चलाउन चाहेमा चलाउन सक्नेगरी व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ।