
काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकूद (साग)अन्तर्गत आज भएको खोखोको पुरुषतर्फको खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको छ। कीर्तिपुरमा भएको खेलमा नेपालले बंगलादेशलाई २१-१९ अंकले पराजित गर्दै प्रतियोगितामा सुखद् शुरुवात गरेको हो।
जितसँगै नेपालले तीन अंक जोडेको छ। खोखोमा नेपालले पहिलोपटक बंगलादेशलाई पराजित गरेको हो।
पहिलो इनिङको पहिलो टर्नमा चेन्जिङ गरेको नेपालले १२ अंक जोड्दा दोस्रो टर्नमा बंगलादेशले पनि १२ नै अंक जोड्यो। दोस्रो इनिङको पहिलो टर्नमा नौ अंक जोड्दा नेपाल २१-१२ को स्थितिमा पुग्यो। तेस्रो टर्नमा बंगलादेशले सात अंक जोड्दा नेपाल २१-१९ ले विजयी भयो। नेपालको जितमा धनप्रसाद चौधरी, कुशल मेछे र गणेश विश्वकर्माले समान चार/चार अंक जोडे।
नेपालले भोलि दोस्रो खेलमा भारतको सामना गर्नेछ। आज नै भएको अर्को खेलमा भारतले श्रीलंकालाई २१-८ अंकले पराजित गर्यो।
त्यस्तै महिलातर्फको आजै भएको खेलमा नेपाली महिला टोलीले बंगलादेशलाई ११–९ अंकले पराजित गर्दै प्रतियोगितामा सुखद् शुरुवात गरेको छ। जितसँगै नेपाली महिला टोलीले तीन अंक जोडेको छ।
पहिलो इनिङमा रनिङ रोजेको नेपालले पहिलो टर्नमा ११ अंक जोड्यो। दोस्रो टर्नमा चेन्जिङ गरेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै बंगलादेशलाई जम्मा पाँच अंक जोड्न दियो। पहिलो इनिङको समाप्तिमा नेपाल ११-५ को बलियो स्थितिमा रह्यो। दोस्रो इनिङको पहिलो टर्नमा बंगलादेशले चार अंक मात्रै जोडेपछि नेपाल एक टर्न अगाडि नै जित निकाल्न सफल भयो। नेपाली महिला टोलीले भोलि भारतको सामना गर्नेछ।