
काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भएको ब्याडमिन्टन टिम ईभेन्ट्समा नेपालको पदक पक्का भएको छ।
पोखरा रंगशालामा नवनिर्मित ब्याडमिन्टन हलमा भएको प्रतिस्पर्धामा नेपाली पुरुष टिमले भुटानी टिमलाई ३-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। जितसँगै नेपालले ब्याडमिन्टनमा पदक पक्का गरेको हो। नेपालका नम्बर एक खेलाडी रत्नजित तामाङले भुटानी खेलाडी अनिश गुरुङलाई २१-६, २१-९ ले, दिपेश धामीले नैदुप दोर्जेलाई २१-१३, २१-१४ ले तथा उदियमान खेलाडी प्रिन्स दाहालले नोर्वु ड्रढुललाई २१-१२, २१-५ ले पराजित गर्दै पदक पक्का गरेका हुन्।
यस्तै महिला टोलीले पनि बंगलादेश माथि ३-० को नै जित निकाल्दै पदक पक्का गरेका छन्। नङ्गशल देवी तामाङले बंगलादेशकी साल्पा अख्तरलाई २१-१८, १५-२१ र २१–१७ ले, रशिला महर्जनले एलिना सुल्तानालाई २८-२६, २१-१९ ले तथा जेशिका गुरुङले विस्त्री खातुनलाई २१-१८, २२-२० ले पराजित गर्दै अर्को पदक पक्का गरे।
अब नेपालका पुरुष र महिला दुवै टोलीले फाइनल प्रवेशका लागि श्रीलङ्काको सामना गर्ने प्रशिक्षक किरण थापाले जानकारी दिए।