
पोखरा : दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग)को महिला क्रिकेटको पहिलो प्रतियोगितामा नेपालले कीर्तिमानी सुरुवात गरेको छ। ५ बलमा नै लक्ष्य भेट्टाउँदै नेपालले मालदिभ्सलाई १० विकेटले हराएको छ।
१ सय १५ बल बाँकी रहँदै नेपाली टिमले लक्ष्य निर्धारण गर्दै जित सुनिश्चित गरेको हो। कमजोर प्रदर्शन गरेको मालदिभ्स १६ रन बनाउँदै अल आउट भएपछि नेपाली टिम पूरै हावी भएको हो। पोखरामा सम्पन्न खेलमा अञ्जली चन्दले २ मेडन राख्दै २.१ ओभरको खेलमा ६ विकेट निकाल्दै नेपाललाई जितको यात्रामा अगाडि बढाइन्। उनले यसैका साथ विश्व रेकर्ड कायम गरेकी छिन्। त्यस्तै करुणा भण्डारीले २ विकेट निकाल्दा ४ रनमात्र खर्चिइन्। मालदिभ्सकी हमजा नियाजले सर्वाधिक ९ रन बनाइन्। उनले दुई चौका प्रहारसमेत गरेकी थिइन्।
१७ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नेपाली टिमका लागि काजल श्रेष्ठले १३ रन जोडिन्। एक वाइड र एक नो बल पाएको नेपाली टिमले पहिलो ओभर पूरा नहुँदै खेल आफ्नो पक्षमा पार्यो।