
- सुमित मिश्र -
जनकपुरधाम : उपत्यका बाहिर पहिलो पटक जनकपुरधाममा पनि हुन लागेको दक्षिण एसियाली खेलकुद (साग) को तयारी अन्तिम चरणमा पुगिसकेको छ।
मंसिर १५ गतेदेखि नेपालमा सुरु भएको साग प्रतियोगिताको कुस्ती खेल जनकपुरधाममा २० गतेदेखि २३ गतेसम्म आयोजना हुनेछ। जसका लागि खेल हुने स्थल कबर्ड हलमा भौतिक पूर्वाधार निर्माण लगायतका कार्यहरु अन्तिम चरणमा पुगेको छ।
आठौँ साग पछिको दोस्रो र नेपालमा भएको तेस्रो पटकको सागमा उपत्यका बाहिर पोखरा र जनकपुरधाममा समेत प्रतियोगिता हुन लागेको हो। जसमध्ये जनकपुरधाममा कुश्ती खेलको प्रतियोगिता हुनेछ।
जनकपुरधाममा पहिलो पटक सात देश सम्मिलित साग प्रतियोगिता हुन लागेकोले यो अवसरलाई राम्ररी प्रयोग गर्न समिति दिनरात खटेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कमल चौधरीले बताए।
उनका अनुसार यहाँ कबड्डी र कुश्ती गरिने योजना थियो। तर, राष्ट्रिय खेलकुद परिषदले भौतिक पूर्वाधारको अभाव रहेको भन्दै कुश्तीमात्र खेलाउने निर्णय गरेको हो। ती खेलहरु जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा आयोजना हुनेछ।
प्रतियोगिताका लागि कभर्ड हलको मर्मत सम्भार, रंगरोगन, भौतिक पूर्वाधार निर्माण, झ्याल ढोका निर्माण, स्टेज, भीआइपी कक्षको मर्मतसम्भार लगायतका कार्यहरु ९० प्रतिशत भन्दा बढी सकिएको अध्यक्ष चौधरीको भनाइ छ। उनका अनुसार भोलिसम्म सम्पूर्ण तयारी पूरा भइसक्ने छ।