PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कराँते महिला टिम कातामा स्वर्ण जितेका खेलाडी भन्छन्, 'जित्दा पहिला गरेको सबै दुःख बिर्सियौँ'



मुकुन्द घिमिरे

कराँते महिला टिम कातामा स्वर्ण जितेका खेलाडी भन्छन्, 'जित्दा पहिला गरेको सबै दुःख बिर्सियौँ'

काठमाडौं : १३ औं साग अन्तर्गत कराँतेको महिला टिम कातामा नेपाललाई स्वर्ण दिलाउने खेलाडीहरुले खुसी व्यक्त गरेका छन्। उनीहरुले नेपाललाई स्वर्ण दिलाउन पाउँदा यसअघिका सबै दुःख बिर्सिएको बताएका छन्।

कराँतेको महिला टिम इभेन्टमा संगीता मगर, सरु कार्की र निर्मला तामाङले नेपाललाई स्वर्ण दिलाएका थिए।

संगीता मगरले स्वर्ण जितेको क्षणमा खुसीको सीमा नै नभएको बताइन्।

उनले भनिन्, 'जित्नै पर्छ भन्ने लागेको थियो। यो खुसी दोहोर्‍याउन चाहन्छौं।'

नेपाल आर्मीकी मगरले जितको श्रेय कोच र साथीहरुलाई दिने बताउँदै अनुभव र ट्रेनिङमा राम्रो भएको बताइन्। दर्शकबाट राम्रो सपोर्ट पाउँदा निकै खुसी लागेको उनले सुनाइन्। नेपाल आर्मी र प्रहरीको कम्बिनेसनले शुरुवात केही गाह्रो भएको उनको भनाइ छ।

'तालिमको समयमा फरक कम्बिनेसन (नेपाल आर्मी र प्रहरी) भएकाले शुरुमा मिलाउन गाह्रो भएको थियो। टाइमिङहरु मिल्दैन थियो। गाली पनि खान्थ्यौं। तर दोब्बर मेहेनेत गरेर सफलता हात पार्‍यौं। सागमा स्वर्ण जितेपछि ती दिनहरु, ती दुखहरु केही हो जस्तो लागेन।'

त्यस्तै नेपाल प्रहरीकी सरु कार्कीले अन्य टिमलाई पहिले नै हराइसकेको अनुभव भएपनि पाकिस्तानसँग भने डर भएको बताइन्।

सरुले भनिन्, 'जित्छु भन्ने थियो। अरु टिमलाई त पहिला पनि हराएकै हो। तर पाकिस्तानसँग अलि डर थियो।'

आफ्नो खेल आमाले टेलिभिजनमा प्रत्यक्ष प्रसारण हरेर खुसी भएको उनले सुनाइन्।

'आमाले लाइभ हेर्नुभयो रे, एकदमै खुसी हुनुहुन्छ। आशिष दिनुभयो रे। त्यसैले मलाई नि निकै खुसी लागेको छ,' उनले भनिन्।

नेपाल प्रहरीकी अर्की खेलाडी निर्मला तामाङले कडा मेहेनतका कारण स्वर्ण हात पारेको बताइन्।

'हाम्रो पहिला देखिको टिम थिएन', निर्मलाले भनिन्, ' टिम कम्बिनेसन गरेर जिरोबाट थालेका थियौं। पछि कम्बाइन गरेको भएता पनि हामीले धेरै मेहेनत गरेर स्वर्ण जित्यौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell