PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

यी आधार किल्ला जसलाई नेकपाले सकेन जोगाउन, संख्यामा अगाडि भए पनि महत्वपूर्ण ठाउँमा गुमाउन वाध्य



कुञ्जरमणि भट्टराई

यी आधार किल्ला जसलाई नेकपाले सकेन जोगाउन, संख्यामा अगाडि भए पनि महत्वपूर्ण ठाउँमा गुमाउन वाध्य
नेकपा मुख्यालयको फाइल फोटो।

काठमाडौं : शनिवार सम्पन्न उपनिर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तहको रिक्त ५२ पदका लागि भएको उपनिर्वाचनमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) ले सोचे अनुरुप नतिजा ल्याउन सकेन। तर, वर्चश्व कायम गर्दै ने क पा ३० स्थानमा विजयी बन्यो। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले १३ स्थानमा चुनाव जित्न सफल भयो।

समाजवादी पार्टी नेपालले चार र राष्ट्रिय जनता पार्टी (राजपा) ले तीन स्थानमा विजयी हासिल गरेका छन् भने राष्ट्रिय जनमोर्चा र स्वतन्त्र उम्मेदवारले पनि एक/एक स्थानमा बाजी मारेका छन्।

यो उपनिर्वाचनमा सत्तारुढ दलले आधार किल्ला मानिएका केही क्षेत्रहरु गुमाउन पुगेको छ।

आधार किल्ला कहाँ कहाँ गुमायो ने क पाले?

सर्वाधिक चासोका साथ हेरिएको प्रतिनिधिसभा अन्तर्गतको कास्की क्षेत्र नम्बर २ मा मतान्तर कायम राखेपनि ने क पाले भक्तपुर क्षेत्र नम्बर १ क को वर्चश्वगुमाउन पुग्यो।

त्यस्तै ने क पाले धरान उपमहानगरपालिकामा पनि पराजय बेहोरेको छ।एकीकरण अघि एमालेले जितेको यी दुई क्षेत्रमा एकीकरण हुँदासमेत प्रतिपक्ष दलले जितेको छ।

यसअघि फराकिलो मतान्तरले जितेको भक्तपुरको १ कमा प्रदेशमा कांग्रेसका कृष्णलाल भँडेल निर्वाचित भए। यसअघि नेकपा एमालेका हरिशरण लामिछाने सो क्षेत्रबाट निर्वाचित भएका थिए।

तर, उनको निधनपछि भएको उपनिर्वाचनमानेकपाका उमेदवार देवीप्रसाद ढकाल पराजितभए। नेकपाले पूर्व एमालेको मतलाई समेत कायम राख्नन सकेन।

२०४८ सालयता कम्युनिष्टको गढ मानिएको धरान उपमहानगरपालिकामा पनि नेकपाले हार बेहोरेको छ। नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग पार्टीका रुपमा निर्वाचनमा जाँदा पनि नेकपा एमाले विजयी भएको ठाउँ अहिले गुमेको हो।

यस निर्वाचनमा नेपाली कांग्रेसका तिलक राईले २६ सय ९५ मतअन्तर बनाउँदै नेकपाका प्रकाश राईलाई पराजित गरे। तिलकले २६ हजार ७ सय ९ मत पाउँदा प्रकाशको पक्षमा भने २३ हजार ९ सय १४ मत मात्र पर्‍यो।

२०७४ सालको निर्वाचनका नेकपाका उमेदवार तारा सुब्बा २० हजार ९७५ मत ल्याएर निर्वाचित भएका थिए। त्यतिबेला १६ हजार १०२ मत ल्याएर पराजित भएका तिलकले यसपटपक नतिजा उल्टयाए।

अघिल्लो निर्वाचनमा एमाले एक्लैले दोब्बर मत अन्तर बनाएको थियो।ने क पाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै गृह जिल्ला चितवनमा निर्वाचन भएका तीनै वडामा नेकपा पराजित भयो।

चितवन महानगरको वडा नम्बर १६ तथा खैरेनीको ४ र ५ मा नेपाली कांग्रेस विजयी भयो।

कांग्रेसले जोगाउन नसकेको दुई गाउँपालिका

भक्तपुरको प्रदेशसभा र धरान उपमहानगरपालिका नेकपाबाट उछिट्याएको कांग्रेसले पाँचथरको फाल्गुनन्द गाउँपालिका र हुम्लाको खार्पुनाथ नगरपालिकाका उपाध्यक्ष र भने जोगाउन सकेन।

खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा नेकपाकी रुपा शाही विजयी भएकी छिन्। नेकपाकी शाही एक हजार ४५३ मत ल्याएर विजयी भइन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तारा शाहीले एक हजार ३८५ मत प्राप्त गरिन्।

२०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा शाही कांग्रेसकी सिन्धु हमालसँग पराजित भएकी थिइन्। हमालको जिप दुर्घटनामा मृत्यु भएपछि खार्पुनाथमा उपनिर्वाचन भएको थियो।शाहीले नजिता उल्टो पारिन्।

फाल्गुनन्द गाँउपालिकाको अध्यक्षमा नेकपाका वीरबहादुर कुरुम्बाङ विजयी बने।कुरुम्बाङले ५ हजार ३ सय ६९ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बृजहाङ आङदेम्बेले ४ हजार ५ सय ६३ मत प्राप्त गरे।

अध्यक्ष पदमा निर्वाचित कुरुम्बाङ विसं २०७४ सालको चुनावमा नेपाली कांग्रसेका अमरकुमार नेम्बाङसँग ७ सय ९६ मत अन्तरले पराजित भएका थिए।नेम्वाङको निधनपछि यहाँ उपचुनाव भएको हो।

राष्ट्रिय जनता पार्टीले चुनाव जितेकोमहोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष यसपटक भने नेकपाको पोल्टामा पर्‍यो।

नेकपाले किन गुमायो आधार क्षेत्र ?

चुनावी मत परिणामले हार्ने निश्चित भएपछि समाजिक सञ्जालमा त्यसको अड्कलबाजी सुरु भइहाल्छ। मत परिणाम सार्वजनिक भएपछि त झन् एक अर्काप्रति आरोप प्रत्यारोप।पार्टी एकीकरणपछिको निर्वाचनमा गएको नेकपामा कुनै स्थानमा भने एकीकरणको असर नै देखिएन।

उपनिर्वाचनमध्येको महत्वपूर्ण क्षेत्र भक्तपुरमा १ कमानेकपाका उम्मेदवारको विषयमा विवाद भएको थियो। पार्टीले पूर्व माओवादीका डिपी ढकाललाई उम्मेदवार बनाउने भनेपछि पूर्व एमालेले पार्टीले क्षति व्योहोर्नुपर्ने भन्दै पार्टी कार्यालयमा ताला बन्दी नै गरे। अन्तत: भक्तपुर प्रदेशमा नेपाली कांग्रेस विजयी भयो।

पार्टीले हार बेहोर्नेबित्तिकै रामप्रसाद सापकोटा दीपशिखाले ट्वीट गरे -'नेकपाभित्र एउटा प्रवृति छ आफूलाई पहिलो दर्जाको र अर्कोलाई दोस्रो दर्जाको ठान्ने! चुनावको परिणाममा यो प्रवृत्तिले पनि काम गरेको छ।'

उनको ट्वीट पूर्व एमालेप्रति लक्षित छ। उनको ट्वीटले पूर्व एमालेले अन्तरघात गरेको संकेत गर्छ। उनको ट्वीटमा पूर्व एमालेका नेताहरुले बचाउ गरेको पनि देखिन्छ।

भक्तपुरमा भने उपयुक्त उम्मेदवार नहुँदा नेकपाले पराजय बेहोर्नुपरेको नेताहरुको टिप्पणी छ।

कास्की र दाङको मतान्तरमा सहानूभूति

नेकपाले फराकिलो मतअन्तर बनाएर विजयी भएको क्षेत्र हो कास्की २ र दाङ क्षेत्रनम्बर ३ को (ख)। कास्की क्षेत्र नम्बर दुईबाट निर्वाचित तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो।

त्यसपछि रिक्त रहेको पदमा उम्मेदवार बनेकी उनीकी पत्नी विद्या भट्टराई ८ हजार मत अन्तरले बिजयी भइन्। त्यस्तै दाङ ३ को ख मा नेकपाकी उम्मेद्वार बिमला वली निर्वाचित भएकी छन्।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव आचार्यलाई हराउँदै वली निर्वाचित भएकी हुन्। वलीले प्रदेशसभा २४ हजार २८६ मत पाउँदा आचार्यले १९ हजार १८२ मत मात्रै पाए ।

२०७४ को निर्वाचनमा यो क्षेत्रबाट एमालेका उत्तरकुमार वली निर्वाचित भएका थिए। उनको निधन भए पछि पत्नी बिमला उपनिर्वाचनमा उम्मेद्वार बनेकी थिइन्।

यी दुई पदमा नेकपाको विजयले पतिको मृत्युपछि निर्वाचनमा होमिएका पत्नीले जित्ने गरेको इतिहासलाई कायम राखेको छ। यो जितमा सहानूभूतिले पनि काम गरेको धेरैको तर्क छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell