PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

विराटनगर विमानस्थलको धावन मार्ग २५ सय मिटरको बनाउने घोषणा, अन्तर्राष्ट्रिय उडान भर्न सकिने



अनन्तराज न्यौपाने

विराटनगर विमानस्थलको धावन मार्ग २५ सय मिटरको बनाउने घोषणा, अन्तर्राष्ट्रिय उडान भर्न सकिने

विराटनगर : पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विराटनगर विमानस्थलको धावन मार्ग विस्तार गरेर आगामी पाँच वर्षभित्र २ हजार ५ सय मिटरको बनाउने घोषणा गरेका छन् ।

मन्त्री भट्टराईले हाल १ हजार ५ सय मिटरको धावन मार्ग भएको विमानस्थल सन् २०२५ सम्ममा २ हजार ५ सय मिटरको भइसक्ने घोषणा विराटनगरमा सोमबार गरेका हुन् ।

‘मेरो १ सय ४१ बूँदे प्रतिबद्धता पत्रमा पनि यहाँको विमानस्थलको विस्तार गरिने उल्लेख छ’, विराटनगर विमानस्थलको विकास र विस्तारका लागि तयार पारिएको गुरुयोजनासम्बन्धी अन्तरक्रियामा मन्त्री भट्टराईले भने, ‘केही समयमै सङ्घीय सरकारले जग्गा अधिग्रहणको निर्णय गर्नेछ । यसपछि धमाधम काम अघि बढाइनेछ । सङ्घीय सरकारले यहाँको विमानस्थलको विस्तार कार्यमा प्रदेश र स्थानीय सरकारलाई पनि साझेदार बनाउनेछ ।’

‘यो विमानस्थल ठूलो पनि होइन र सानो पनि होइन’, उनले भने, ‘यो मध्यम स्तरको विमानस्थल हुनेछ । यसपछि यहाँबाट एटिआर ७२ जस्ता जहाज चलाएर अन्तर्राष्ट्रिय उडान भर्न सकिन्छ । बुद्ध एअरले एटिआर ७२ बाटै भारतका विभिन्न शहरमा उडान भरिरहेको छ ।’

प्रदेशको एक राजधानीबाट अन्य प्रदेशका राजधानीमा अन्तर प्रादेशिक उडान गरी हवाई सम्पर्क कायम राख्ने कार्यक्रम सरकारले बनाएको उनले जानकारी दिए । साथै अन्य पहाडी क्षेत्रमा उडान भर्ने जहाजलाई हवाई इन्धनमा सब्सिडी दिने सोचाइ भइरहेको उल्लेख गरे ।

अब हुम्ला, जुम्ला र ताप्लेजुङबाट काठमाडौं होइन आफ्नै प्रदेशको राजधानीमा उडान भर्नुपर्ने कार्यक्रम ल्याउन सरकार तयार रहेको उनले बताए ।

मन्त्री भट्टराईको भनाइ छ, ‘कतिपय एअरलाइन्सले काठमाडौंबाहिर बेस बनाउने कागज गरेका छन् तर भनेबमोजिम गरेका छैनन् । त्यस्ता एअरलाइन्सले काठमाडौंबाहिर नै रातिको बास बस्ने गरी सेड्युल बनाउनु पर्छ । नभए सरकारले कारबाही गर्छ ।’

अब साना जहाज राजधानीमा नचलाउने र तिनलाई राजधानी बाहिर सार्ने तयारी भइरहेको चर्चा गर्दै उनले काठमाडौं–लुक्ला–काठमाडौं उडानलाई मन्थली–लुक्ला–मन्थली बनाउने घोषणा गरे ।

‘काठमाडौं–लुक्ला–काठमाडौं चल्ने साना जहाज दैनिक ५० को हाराहारीमा छन्’, उनको कथन थियो, ‘काठमाडौंको एअर ट्राफिक बढ्नुको एउटा कारण यो उडान पनि हो । यसलाई मन्थली सार्ने हो भने ट्राफिकको समस्यामा केही राहत पुग्छ ।’

उनले पहाडका विमानस्थलले आफ्नो खर्च उठाउन नसके पनि अन्य ठाउँका ठूला विमानस्थल आत्मनिर्भर हुनुपर्नेमा जोड दिए । यसका लागि विमानस्थलको जग्गाको व्यावसायिक उपयोग गर्नुपर्ने उनको सुझाव छ ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले एक वर्षअघि विराटनगर विमानस्थलको धावन मार्ग ३ हजार मिटरको बनाउनु पर्ने निर्णय गरेको जानकारी गराए ।

‘प्रदेश सरकारले निर्णय गरेको एक वर्षपछि यसको आधार तयार भएको छ’, मुख्यमन्त्री राईले भने, ‘हामी ३ हजार मिटरको धावन मार्ग हुनुपर्छ भन्ने कुरामा अझै विश्वस्त छौं । सङ्घीय सरकारले २ हजार ५ सय मिटरको धावन मार्ग बनाए पनि ३ हजार मिटरमा विस्तार गर्न सकिने गरी सङ्घीय सरकारले जग्गा अधिग्रहण गरोस् ।’

प्राधिकरणका इन्जिनियर प्रदीप अधिकारीका अनुसार हाल विराटनगर विमानस्थलको क्षेत्रफल १ सय २० बिघामा फैलिएको छ । यसमा पश्चिमतर्फबाट ८३ बिघा जमिन अधिग्रहण गरेर थपेपछि मात्र २ हजार ५ सय मिटरको धावन मार्ग बनाउन सहज हुन्छ । यसपछि बोइङ लगायतका ठूला जहाज यहाँबाट सञ्चालन गर्न सकिन्छ । विराटनगर विमानस्थलमा ८३ बिघा जमिन अधिग्रहण गरेर थपेपछि यसको क्षेत्रफल २ सय ३ बिघाको हुनेछ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell