भर्खरै ह्वात्तै चिसो बढेको छ। मंसिरको दोस्रो साता जति चिसो बढेको छ, त्यति नै दक्षिण एसियाली खेलकुद सागको माहोल तातेको छ। आइतवार सागको भव्य उद्घाटन रातिसम्म बसेर हेर्दा लागेको थियो- नेपालले प्रतिस्पर्धा जस्तो गरे पनि उद्घाटन चाहिँ भव्य भयो। इज्जत जोगियो।
हुन पनि यसअघिको सागमा नेपालको प्रतिस्पर्धाको स्तर हेर्दा यसपटक के गर्ला नेपालले भन्ने लागेको थियो। खेलाडीको तयारी राम्रो भएको भन्ने पनि थाहा थियो तर अझै 'नेपालले सागमा प्रदर्शन सुधार्ला त? प्रश्न यथावत थियो।
त्यसैले सोमबार बिहानै पुगेँ सातदोबाटो। कराँते र तेक्वान्दोका खेलहरु त्यहाँ हुने थियो। कराँते खेल हुने कभर्ड हल पुग्दै गर्दा पाकिस्तानका पत्रकारहरु एकजना खेलाडीको अन्तर्वार्ता लिँदै थिए। के रहेछ भन्ने चासो लागे पनि चुपचाप कभर्ड हल भित्र छिरेँ। त्यहाँ बुझ्दै जाँदा ती पाकिस्तानकी खेलाडीले कराँतेमा पहिलो स्वर्ण पदक जितेकी रहिछिन्। र, रजत पदक जितेकी थिइन् नेपालकी चन्चला दनुवारले।
समाचार बनाउन नपाउँदै नेपालले पनि स्वर्ण हात पार्यो। मन्डेकाजी श्रेष्ठले ब्यक्तिगत काता तर्फ स्वर्ण दिलाएका थिए। त्यसपछि टिम कातामा नेपाली महिलाहरुले जित हात पारे।
त्यसैबीच तेक्वान्दोमा पनि व्यक्तिगत तर्फ २३ देखि २९ वर्ष समूहमा नेपालका कमल श्रेष्ठले जित हात पारे। श्रेष्ठसँग स्वर्ण जित्दाको अनुभवबारे छोटो कुराकानी गरेर फेरि कराँते तिर लागेँ।
कराँतेमा फेरि नेपालले एकपछि अर्को स्वर्ण जित हात पार्दै लग्यो। अधिकांशमा स्वर्ण र केहीमा रजत गर्दै नेपालले उत्कृष्ट प्रदर्शन गर्दैं लगेको थियो। र, यसलाई अन्तिम खेलसम्मै निरन्तरता दियो।
आजको खेल सकिँदा दक्षिण एसियाली खेलकुदमा नेपालका लागि आज ऐतिहासिक बन्यो। कारण नेपालले हात पारेका स्वर्ण पदकको संख्या। पहिलो दिननै १५ पदक हात पारेको नेपालले प्रतियोगिता भर कति पदक पार्ला त? यो चासो मलाइमात्र नभइ सबै खेल प्रेमीहरुमा उब्जिएको छ।
१२ औं सागमा सहभागिता नै नजनाएको कराँतेले आज एक पछि अर्को गर्दै पदक हात पार्यो।
केही हप्ता अघि भएको खेल पत्रकारहरुको वर्कसपमा कराँतेका मुख्य प्रशिक्षक मदन उप्रेतीले कराँतेबाट ६ देखि ८ पदक हात पार्ने विश्वास लिएको बताएका थिए। आज सुरुमा कराँतेले ३ स्वर्ण हात पारेपछि के होला त? प्रश्न गर्दा एकछिन सोचेर उनले 'आजै कम्तीमा ३ वटा स्वर्ण हात पार्छ' भनेका थिए।
हुन पनि त्यस्तै भयो। तर, ३ पदकले मात्रै नेपाली खेलाडी कहाँ चित्त बुझ्थ्यो र। १२ औं सागमा स्वर्ण पदक लगाउँदै 'सयौं थुंगा' गाउन बञ्चित भएको पीडा बांकी नै थियो। त्यसलाई पूरा गर्ने लक्ष्य सहित मैदानमा होमिएको नेपालले १३ औं सागमा कराँतेमा ७ स्वर्ण हात पार्यो। तेक्वान्दोले आज ६ स्वर्ण हात पार्यो। १२ औं सागमा रजत र कास्यमा चित्त बुझाएको तेक्वान्दोले १३ औं साग सुखद् सुरुवात गर्यो।
धेरै पछाडि फर्कनै पर्दैन। मात्र भारत गुवाहिटी र सिलोङमा भएको यसअघिको सागमा हेर्ने हो भने नेपालले जम्मा ३ स्वर्ण ल्याएको थियो। तर, नेपालमै भएको १३ सागमा आज एकैदिन १५ स्वर्ण हात पारेको छ। यसैले दिन ऐतिहासिक बनाएको छ।
केही हप्ता अघि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले नेपालले ५० स्वर्ण पदक ल्याउने बताएका थिए।
'३ स्वर्णबाट एकैपटक ५०?'
कतिले त हाँसोमा समेत उडाए। आजको उपलब्धिको हिसाबले त सदस्य सचिवको लक्ष्य खासै टाढा पनि देखिएन।
तर, आजको उपलब्धिले चुनौतीलाई पनि थपेको जस्तो अनुभव भएको छ। भोलिलाई चुनौती पक्कै छ- हासिल गरिएको उपलब्धिलाई निरन्तरता दिने। यो सफलता पाउनु जति कठिन थियो त्यसलाई निरन्तरता दिनु झन् कठिन हुने देखियो। जे होस् आज गर्व गर्न सक्ने गरी उपलब्धी रह्यो। स्वर्ण जित्ने सपना सहित भोलि खेलाडीहरु मैदानमा उत्रँदा फेरि त्यसको साक्षी बन्न म पनि रंगशाला पुग्नेनैछु। बाँकी भोलिले देखाउला।