PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

श्रीमानलाई ‘थ्याङ्क यू’ भन्न नसक्दाको त्यो क्षण …



विष्णु गौतम

श्रीमानलाई ‘थ्याङ्क यू’ भन्न नसक्दाको त्यो क्षण …

पोखरा : महिला क्रिकेट टिमकी मुख्य खेलाडी लेफ्ट स्पिनर अञ्जली चन्दको मोबाइलमा श्रीमानले फोन गरेर बधाई छ भन्दा उनले त्यसको उत्तर फर्काउन पनि सकिनन्। प्रतित्युतरमा धन्यवाद भन्नुभन्दा पहिल्यै मन भारी भयो उनको।

‘संसारभरिका ब्याट र बलले मलाई नै थिचे जस्तो भयो। जीवनको कुनै क्षणमा कल्पनामा समेत नसोचेको उपलब्धिले पनि होला,’ ३० सकेन्डमा ‘थ्याङ्क यू’ मात्र भन्न सकिन्। उनी चेञ्जिङ रूममा पुग्दा नपुग्दै उनलाई श्रीमानको पहिलो फोन आएको थियो। पोखरामा जारी साग अन्तर्गत महिला क्रिकेटको खेल अनलाइनमा हेरेर बसेका उनका श्रीमानले अञ्जलीको अविश्वसनीय रेकर्ड बनाएको भन्दै बधाई दिएका थिए।

वैवाहिक जीवनपछि पूर्णविराम जस्तै लागेको उनको खेल जीवन श्रीमानको हौसलाले अघि बढेको थियो। सोमबार पोखरा रंगशलामा भएको महिला क्रिकेटमा नेपाल र माल्दिभ्स आमनेसामने थिए।

टस जितेर ब्याटिङ रोजेको माल्दिभ्स १०.१ ओभरमा १६ रनमै सीमित भएको थियो। १७ रनको लक्ष्यसहित मैदान उत्रिएको नेपालले पहिलो ओभरमै लक्ष्य पार गर्‍यो ।

२.१ ओभरमा २ मेडनसहित ६ विकेट लिएकी अञ्जलीले तेस्रो विकेटपछि केही सेकेन्ड आँखा चिम्म गरिन्। त्यसपछि भगवानलाई सम्झिइन्। अनि सम्झिइन् कोचले भनेका कुरा। त्यसपछिका प्रत्येक विकेट उनका लागि पनि पत्याउन सक्ने खालका थिएनन्।

‘चार वर्षपछि अन्तर्राष्ट्रिय गेम खेल्न पाउनु मेरा लागि निकै महत्त्वपूर्ण थियो, २ विकेट त लिन्छु होला भन्ने लागेको थियो तर नसोचेको भयो,’ जितपछि पहिलोपोस्टसँग भनिन्।

सानोमा गाउँ (बैतडी) मा दाइहरुले खेलेको देखेर रहरै रहरमा उनी क्रिकेटमा होमिएकी थिइन्। हातमा बल घुमाउँदै दाइहरुसँग क्रिकेट क्रिजमा होमिएकी उनले यु–१९ र २०१४ मा एसियन गेम्समा बंगलादेशविरुद्ध खेल्ने मौका पाइन्।

चार वर्षअघि बिहे भएपछि क्रिकेट खेलबाट उनको यात्रा रोकियो। तर, जीवनको अभिन्न अंग बनिसकेको क्रिकेट कसरी छोड्न सक्थिन् र? वुमन्स च्याम्पियन्स लिगबाट क्रिकेटमा फर्किएकी उनले सागका लागि नेपाली टोलीमा स्थान बनाउन सफल भइन्।

‘क्रिकेटमा लागिरहन घर र माइत दुवैबाट राम्रो सहयोग मिलेको छ। परिवारबाट राम्रो सहयोग नभएको भए कसरी आज यति राम्रो खेल्न सक्थेँ र?,’ प्रश्न गर्दै भनिन्, ‘श्रीमानको व्यक्तिगत पहलमा मैले आजको खेलमा सफलता पाएँ।‘

चार वर्षको अन्तरालमा उनले क्रिकेटका लागि प्रयास नगरेकी भने होइनन्। त्यति बेला उनलाई भाग्यले साथ दिएन। विवाह लगत्तैको क्याम्पमा उनी टाइफाइडको बिरामी। खेल्न नसकी त्यहीँबाट बाहिरिइन्। त्यसपछिको सागका लागि उनी २२ जना भित्र परिन्  तर अन्तमा टिममै परिनन्। अघिल्लो गेममा भने उनको देब्रे हात नै इन्ज्योर्ड भएका कारण आफैंले नाम फिर्ता लिइन्।

‘अहिले त जसरी पनि खेल्छु भन्दै कमजोर हातमा पनि संसारको तागत लिएर खेलेँ। नतिजा नसोचेको राम्रो भयो,’ हातमा रहेको ब्याट मुसार्दै उनले भनिन्।

पोखरा रंगशालामा आफ्नो उत्कृष्टता देखाएसँगै अञ्जली फेरि एकपटक सबैको आँखामा परेकी छिन्। तर, यस्तो प्रदर्शनलाई निरन्तरता दिनु सजिलो कुरा होइन। त्यसले दबाब पनि बढेको छ। सागमा सहभागी अन्य टिम माल्दिभ्सजति कमजोर छैनन्। २५ वर्षीय अञ्जलीले यस्तो यथार्थ बुझेकी पनि छिन्।

‘यस खेलबाट हामीमा स्वर्ण जित्नै पर्ने दबाब पनि परेको छ,’ उनले भनिन्, ‘बधाई दिने जति सबैले प्रशंसाभन्दा पनि स्वर्ण जित्नुपर्छ है भनेका छन्। म कसरी हुँदैन भन्न सक्छु र?’

खेलका लागि उनी दैनिक बिहान दौडिन्छिन्। दिउँसो एकेडेमी जान्छिन् । ‘म आवश्यक पर्दा सशस्त्रबाट खेल्छु। तर, नियमित खेल नहुने कारणले विकल्प सोच्नु हामी खेलाडीको बाध्यता हो। खेल नहुँदाको दिनमा भोकै परिन्छ अनि?,’ उनले गहन प्रश्न अघि सारिन्, ‘राज्यले केही गर्नुपर्दैन तर नियमित खेल्ने वातावरण र अवसर प्रदान गरे हुन्छ। हामी हाम्रो खेल कौशलका आधारमा बाँच्छौँ।‘

उनी अरूको देखेर आफ्नो योजना नबन्ने बताउँछिन्। ‘आफ्नो हैसियत अनुसारको योजना बनाउँछु। त्यसैले विदेशको कल्पना मेरो लागि निकै परको कुरा हो। कमाउँदा मासु खाउँला नकमाउँदा पानीले पेट भरौँला। तर, पनि देश छोडेर जादिनँ,’ उनी गर्विलो सुनिइन्।

अञ्जलीले बुझेकी छिन् खेलबाटमात्र भविष्य छैन। तर, पनि सबै कुरामा भविष्य हेरेर हुँदैन। ‘मन र भावनाको कुरा कहाँ रहन्छ त?,’ उनीसँग जवाफ पनि छ, 'म जे गर्छु मनबाट गर्छु। सकिनँ भने बैतडीतिरै खेत कमाएर खाउँला।'

चार वर्षको अवधिमा उनले जे जति गुमाइन् त्यो निकै पीडादायी भयो। 'आज बल्ल सोच्न बाध्य भएँ विगतका चार वर्ष मैले निकै महत्त्वपूर्ण समय मिस गरेको रहिछु। अब त्यो समय फर्काउन त सक्दिनँ तर अबको समय चाहिँ त्यसरी मिस गर्दिनँ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell