PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

गढीमाई मेलामा लाखौँ भक्तजनको भीड : खेतमा गाडी पार्किङ, बगैँचामा किचेन

गढीमाई मेलामा लाखौँ भक्तजनको भीड : खेतमा गाडी पार्किङ, बगैँचामा किचेन

राधेश्याम पटेल/पहिलोपोस्ट


वीरगंज : बाराको बरियारपुरमा हरेक पाँच वर्षमा लाग्ने गढीमाई मेलामा यस वर्ष पनि श्रद्धालु भक्तजनको उल्लेख्य भीड देखिएको छ। मंगलवार र बुधवार मुख्य पूजाको दिन भएकाले सोमवार साँझसम्म मेलामा आउने भक्तजनको भीड उल्लेख्य बढेको छ। भक्तजन आउने क्रम अझै जारी छ।

गढीमाईमा भारतबाट समेत उल्लेख्य संख्यामा भक्तजन मेला भर्न आउँछन्। सीमावर्ती सहर रक्सौल, आदापुर,घोडासहन तथा पर्साको सीमानाका भिस्वा, जानकी टोल, प्रसौनी भाठालगायत नाकाबाट पनि श्रद्धालुहरू मेला भर्ना आइरहेका छन्।

कलैयाबाट ६ किलोमिटर पूर्वमा पर्ने महागढीमाई नगरपालिका १ को गढीमाई मन्दिरको तीन किलोमिटर वरपरसम्म भक्तजन खचाखच छन्। करिब ७० लाख भक्तजनले मेला भर्ने अनुमान गरिएको मेला व्यवस्थापन समितिका अध्यक्ष मोतीलाल कुशवाहले बताए।

मंगलवार बिहान ५ वटा पशुको पञ्चबली दिएर मुख्य पूजा शुभारम्भ भएको छ। दुई दिन मुख्य पूजा हुने मेलामा मंगलवार राँगा र बुधवार बोका, हाँस र कुखुराको बली दिइनेछ। 

उच्च सुरक्षा सतर्कता

गढीमाई मेलाको सुरक्षाका लागि स्थानीय प्रशासनले १२ सय सुरक्षाकर्मी परिचालन गरेको बाराका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले जानकारी दिए। १२ सय मध्ये दुई सय ८७ सशस्त्र प्रहरी, तीन सय ट्राफिक प्रहरी र बाँकी नेपाल प्रहरी खटिएको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले बताए। मेलाको सुरक्षार्थ स्थानीय प्रशासनले ८० वटा सिसिटिभी जडान गरेको छ। दुई वटा ड्रोन क्यामेराबाट पनि निगरानी गरिएको छ।

पैदलदेखि ट्रयाक्टरको सवारी

मेलामा आउन भक्तजनले विभिन्न सवारीसाधन उपयोग गरिरहेका छन्। मेलामा पैदल तथा मोटरसाइकल, जीप, कार, बस, ट्रक, मिनी बस, तथा ट्रयाक्टरको चाप बढी देखिएको छ। तीन किलोमिटरसम्म सवारीसाधनको अत्यधिक चाप हुने भएकोले सडकमा सवारीसाधनको जाम छ। भक्तजनलाई सवारीसाधनको पार्किङ शुल्क हटाइएको छ। भारतीय गाडीको प्रवेशमा भन्सार शुल्क निःशुल्क गरिएको छ।

खानेपानी, चर्पी र टेन्टको उचित प्रबन्ध

मेलामा आउने श्रद्धालु भक्तजनको लागि मेला समितिले करिब पाँच सय अस्थायी चर्पी निर्माण गरेको छ। खानेपानीको लागि पाँच सय नै नल निकालिएको छ। लाखौँको उपस्थिति रहने हुँदा व्यवस्थापन समितिको प्रबन्ध पर्याप्त नभएको भक्तजनको गुनासो छ।

खेतमा गाडी पार्किङ, बगैँचामा किचेन

नेपाल-भारतबाट आउने भक्तजनहरूले मेला वरपर एक हप्ता अघिदेखि डेरा बस्ने गरेका छन्। मेलामा गढीमाईको दर्शन तथा बली दिन खाद्यान्न सामग्रीसहित उनीहरू आउँछन्। भारत विहारको सिवान जिल्लाबाट आएको सन्दीप प्रसादको परिवार मेलाबाट २ किलोमिटर पश्चिममा रहेको एउटा बगैँचामा बास बसेका छन्। टेन्ट र त्रिपालको छाप्रो लगाएर उक्त परिवार तीन दिनदेखि बसिरहेका छन्। गढीमाईसँग छोरा मागेको र उक्त मनोकामना पूरा भएपछि दुई पटकदेखि उनी मेला आइरहेको बताए। भक्तजनहरुले खेतमै गाडी पार्किङ गरिरहेका छन्।

मेलामा कति पसल तथा स्टल छन् गन्न सकिने अवस्था छैन। वरपर पाँच किलोमिटरसम्म सडक छेउछाउमा खानेकुरादेखि विभिन्न कस्मेटिक र मेलामा बेचिने सामानका पसल छन्।  खाजा तथा खानाको होटेलदेखि लत्ताकपडा, पूजा सामग्रीसँगै फलामका हतियार र सवारीसाधनका स्टल समेत राखिएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell