
बारा : गढीमाई मेलामा बली दिनका लागि जम्मा पारिएका राँगामा कोल्ड डायरिया रोगको संक्रमण भएको छ। तीन दिनअघि ६ वटा राँगा मरेका थिए। आइतवार र सोमवार थप ४० वटा राँगा मरेका छन्।
पशु चिकित्सक हरेराम यादवले केही राँगाहरु डायरियाका कारण मरेको बताए। वीरगंजबाट इन्जेक्सन मगाई संक्रमित राँगाको उपचार गरिएको यादवले जानकारी दिए। एक साताअघिदेखि राँगाहरु रंगशालामा जम्मा पारिएकाले पर्याप्त आहारको अभावमा पनि संक्रमण बढेको उनले बताए।
एक सातादेखि एउटै कम्पाउन्डभित्रको रंगशालामा धेरै राँगा जम्मा पारिएकाले संक्रमितबाट अन्यमा पनि रोग सरेको चिकित्सकको भनाइ छ।
मेला समितिको तथ्यांक अनुसार आइतवार चार हजार राँगाको प्रवेशका लागि रसिद काटिएको थियो। सोमवारसम्म करिब ८ हजारलाई प्रवेश गराइ सकिएको छ।
एउटा राँगा प्रवेशको रसिद पाँच सय तोकिएको छ। बोकाको हकमा तीन सय तोकिएको छ।
१२ हजारसम्म राँगा जम्मा हुने मेला व्यवस्थापन समितिको अनुमान छ।
बली दिने पुशहरुको स्वास्थ्य परीक्षणका लागि पशु चिकित्सकको टिम परिचालन गरिएको छ। टोलीले प्रतिबन्ध गरेका पशुलाई बली नदिई फिर्ता गरिएको छ।