PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सागमा फुटबल : साबिक विजेता नेपालले दोहोर्‍याउला इतिहास?



मुकुन्द घिमिरे

सागमा फुटबल : साबिक विजेता नेपालले दोहोर्‍याउला इतिहास?

दक्षिण एसियाली खेलकुद (साग) मा अधिकांश नेपाली समर्थकको चासो फुटबलमा रहने गर्छ। यसपाली पनि फुटबलमा कस्तो प्रदर्शन रहला भन्ने चासोकै रूपमा हेरिएको छ। घरेलु मैदानमा हुने खेल त्यसमा पनि लामो समयसम्म दशरथ रंगशालाको दूरावस्थाका कारण नेपालको खेल गृह मैदानमा हेर्न अवसर दर्शकले पाएका छैनन्।

नेपालले आफ्नो पहिलो खेल आज खेल्दैछ। परिचित प्रतिद्वन्द्वी भुटानसँग। खेल दिउँसो १ बजे दशरथ रंगशालामा हुँदैछ।

फिफा वरीयतामा नेपालभन्दा भुटान पछाडि रहे पनि कमजोर आक्नु गल्ती हुन सक्छ।

राष्ट्रिय खेलकुद परिषद्का मुख्य फुटबल प्रशिक्षक मिलन हाडाले भनेजस्तो ‘दक्षिण एसियामा सबै टिम उस्तै हुन्। कहिले कुन टिम माथि जान्छ कहिले कुन टिम। यो इतिहासले देखाएको तथ्य हो।’

पहिलो खेलमा बंगलादेशलाई हराएको भुटान त्यसै पनि कमजोर छैन।

भुटानका प्रशिक्षक पेमा दोर्जीले यसपटक उत्कृष्ट प्रदर्शन गर्ने बताएका थिए। दोर्जीका अनुसार भुटानमा राष्ट्रिय लिगहरुका कारण टिममा धेरै सुधार भइसकेको छ।

नेपालले भुटानलाई कमजोर आँक्नुको परिणाम साफ यु १८ मा पनि भोगिसकेको छ। नेपालमै असोज महिनामा भएको उक्त प्रतियोगितामा भारतलाई हराउँदै फाइनल जित्नेमा प्रशिक्षक र अफिसियलहरु केन्द्रित भइरहँदा नेपाल भुटानसँग पराजित हुँदै समूह चरणबाटै बाहिरिएको थियो। यसो भन्नुको मतलब नेपाली टोली कमजोर छ भन्नु होइन। विश्वकप छनोटमा अस्ट्रेलिया, जोर्डन, कुवेत जस्ता शक्तिशाली देशसँग खेलेका खेलाडी नेपाली टोलीमा छन्। प्रशिक्षणकै क्रममा म्यानमारसँग बराबरी खेलेको नेपाललाई घरेलु समर्थकको पनि साथ रहनेछ।

++++

प्रतियोगितामा नेपालले पहिलो खेल खेल्दा भुटान दोस्रो खेल खेल्दैछ।

नेपाली फुटबल टिमका प्रशिक्षक बालगोपाल महर्जन लामो प्रशिक्षण र मैत्रीपूर्ण खेलहरू खेलेकाले नेपालले स्वर्ण जित्नेमा आशावादी देखिन्छन्।

‘अभ्यास राम्रो भएको भएको छ। मैत्रीपूर्ण खेलमा पनि राम्रो नतिजा आएको थियो। स्वर्ण नै हाम्रो लक्ष हो’ केही दिन अघि दशरथ रंगशालामा  खेलाडी अभ्यास गराएपछि प्रशिक्षक महर्जनले भनेका थिए।

त्यस्तै नेपाली फुटबल टिमका कप्तान सुजल श्रेष्ठ पनि राम्रो नतिजा ल्याउनेमा विश्वस्त देखिन्छन्।

‘अभ्यास लामो समयसम्म गरियो। अझ सबै टिम आएको भए थप प्रतिस्पर्धा हुने थियो। खेल रोमाञ्चक हुने थियो।’ भारत र पाकिस्तानको फुटबलमा सहभागिताप्रति संकेत गर्दै श्रेष्ठले भने।

पुरुषतर्फ मात्र होइन महिला फुटबलले पनि स्वर्णकै लक्ष्य राखेको छ। नजिकिँदै गरेको सागले यो अवसर जुराइदिएको छ। सागका लागि महिला र पुरुष दुबैतर्फ स्वर्णकै लक्ष्यमा छन्।

दक्षिण एसियाली खेलकुदमा यसपटक फुटबलको खेल तालिका नै तीन पटक फेरिएको छ। पछिल्लो तालिका अनुसार 'रेस्ट डे' थपिएको छ। कारण हो प्रतिस्पर्धामा आएका देशहरुले गरेको आलोचना। आइतवार माल्दिभ्स र श्रीलंकाका कोचले 'रेस्ट डे' नभएको भन्दै चर्को आलोचना गरेपछि एन्फाले 'रेस्ट डे' थपेको छ।

नयाँ तालिका अनुसार डिसेम्बर २ मा फुटबलका २ खेल भए। जसमा पहिलो खेलमा बंगलादेश र भुटान खेल्नेछन् भने दोस्रो खेलमा माल्दिभ्स र श्रीलंका खेले। डिसेम्बर ३ मा माल्दिभ्स र श्रीलंका तथा नेपाल र भुटान भिड्नेछन्। त्यस्तै डिसेम्बर ४ मा नेपाल र श्रीलंकामात्र खेल्नेछन्। डिसेम्बर ५ मा भुटान र माल्दिभ्स तथा श्रीलंका र बंगलादेश भिड्नेछन्।

यो तालिका दोस्रो तालिका अनुसार नै हो। तालिका हेरफेर गरिए पनि सबै टोलीले लगातार दुई खेल खेल्नै पर्ने हुन्छ। उनीहरूले एक दिन भने रेष्ट पाउनेछन्।

डिसेम्बर ६ मा भने सबै टोलीहरुलाई रेष्ट दिइएको छ। यसअघिको तालिकामा यस दिन नेपाल र माल्दिभ्स खेल्ने थिए। यस दिन रेष्ट नदिइएको भए माल्दिभ्सले लगातार तीन खेल खेल्नुपर्ने हुन्थ्यो।

नयाँ तालिका अनुसार डिसेम्बर २ मा फुटबलका २ खेल हुनेछन्। जसमा पहिलो खेलमा बंगलादेश र भुटान खेल्नेछन् भने दोस्रो खेलमा माल्दिभ्स र श्रीलंलका भिड्नेछन्। डिसेम्बर ३ मा माल्दिभ्स र श्रीलंका तथा नेपाल र भुटान भिड्नेछन्। त्यस्तै डिसेम्बर ४ मा नेपाल र श्रीलंकामात्र खेल्नेछन्। डिसेम्बर ५ मा भुटान र माल्दिभ्स तथा श्रीलंका र बंगलादेश भिड्नेछन्।

पुरुष फुटबलमा नेपालको इतिहास साग जति नै लामो छ। काठमाडौंमा आयोजना भएको पहिलो दक्षिण एसियाली खेलकुदबाट सहभागिता जनाउन थालेको नेपालले त्यसयता निरन्तर सहभागिता जनाउँदै आएको छ।

सागमा नेपाली फुटबलको उपस्थिति पनि राम्रो रहँदै आएको छ। नेपालले सन् १९८४, १९९३ र २०१६ को सागमा स्वर्ण पदक जितेको थियो भने सन् १९८७ र १९९९ मा रजत पदक जितेको थियो। त्यस्तै सन् १९८५ र २००९ मा कांस्य पदकमा चित्त बुझाएको थियो।

महिला फुटबलमा भने सन् २०१० मा ढाकामा सम्पन्न ११औँ सागबाट नेपालले सहभागिता जनाउँदै आएको छ। नेपालले सन् २०१० र २०१६ मा रजत पदक हात पारेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell