
काठमाडौं : दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा आज नेपालले भारतको सामना गर्दैछ।
नेपालले सेमिफाइनलमा समूह 'बी'को विजेता श्रीलंकालाई सोझो सेटमा हराएको थियो। नेपालले २५-१४, २५-१८ र २५-२१ सेटमा श्रीलंकालाई हराउँदै फाइनलमा यात्रा सुनिश्चित गरेको थियो। भारतले पनि माल्दिभ्सलाई १४-२५, ६-२५ र १७-२५ को सेटमा हराउँदै फाइनल प्रवेश गरेको थियो।
समूह चरणमा नेपाल र भारत दुबैले बंगलादेशलाई सोझो सेटमा हराउँदा भारतले नेपाललाई सोझो सेटमै हराएको थियो। नेपाल र भारतबीचको समूह चरणको खेलमा पहिलो सेटमा २६-२४ बाहेक अरु सेटमा भारत हावी भएको थियो।
श्रीलंकासँगको खेल जितेपछि कुरा गर्दै नेपाली भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले फाइनलमा कमजोरी सुधार्दै स्वर्ण जित्ने बताएका थिए।
केही हप्ताअघि बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोनमा च्याम्पियन बनेको नेपाली भलिबल टोलीलाई घरेलु समर्थकको पनि साथ रहनेछ। यता सबै खेल सोझो सेटमा जित्दै अपराजित रहेको भारत आफैंमा बलियो छ। लामो समयदेखि भलिबल खेल्दै आएको भारतीय टोलीसँगको अनुभव पनि भारतका लागि 'प्लस प्वाइन्ट' हुन सक्छ।