काठमाडौं : १३ औं दक्षिण एशियाली खेलकुद सागमा नेपालले अहिलेसम्म २० स्वर्ण पदक जितिसकेको छ। सबैभन्दा धेरै स्वर्ण कराँते र तेक्वान्दोमा हासिल गरेको छ नेपालले। अहिले स्वर्ण पदक ल्याएका मध्ये चर्चाको केन्द्रमा छन्, मन्डेकाजी श्रेष्ठ। उनी चर्चित हुने कारण भने दोहरो स्वर्ण नै हो। श्रेष्ठले व्यक्तिगत कराँते (काता) र पुरुष टीम कातामा स्वर्ण जितेका हुन्। त्यतिमात्र होइन, नेपालको लागि १३ औं सागमा पहिलो स्वर्ण पनि उनैले दिलाए।
दुई दशक खेल जिवन बिताएका श्रेष्ठको लागि ठूलो सफलता हो। 'यो मेरो मेहेनत र परिवार जसमा पनि मेरो छोरीको लक्कीले जिताएको हो। यसमा असाध्यै खुशी छु,' श्रेष्ठले भने। श्रेष्ठ नेपाल प्रहरीमा आवद्ध छन्। उनी प्रहरीका हवल्दार हुन्। १४ वर्षदेखि उनी नेपाल प्रहरीका तर्फबाट खेलिरहेका छन्।
नेपाल प्रहरीको तर्फबाट ९२ जना खेलाडीले साग खेलमा सहभागिता जनाएका छन्। नेपाल प्रहरीका तर्फबाट कराँते, फुटबल, सुटिङ, उसु, जुडो, भलिबल लगायत २० खेलमा नेपाल प्रहरीले सहभागिता जनाएको छन्। सोमबार टिम काता तर्फ स्वर्ण पदक जितेका महसुस तामाङ पनि नेपाल प्रहरीका नै खेलाडी हुन्। उनी प्रहरी जवानका रुपमा कार्यरत छन्। नेपाल प्रहरीकै चञ्चला दनुवारले पनि नेपालका लागि व्यक्तिगत काता तर्फ रजत पदक दिलाएकी छिन्।
कमल श्रेष्ठले नेपाल प्रहरीमा जागिर खाएको १० वर्ष भएको छ। उनी प्रहरी जवान हुन्। सोमबार उनले पनि नेपालको लागि स्वर्ण पदकको सङख्या थप गरेका थिए। उनले तेक्वान्दो (पुम्से) तर्फ नेपालका लागि स्वर्ण दिलाएका हुन्।
'देश तथा संगठनको नाम उच्च राख्न पाउँदा खुशी लाग्दो रहेछ। भारतलाई प्रतिस्पर्धी सम्झेको थिएँ तर मेडल ल्याउन सफल भएँ,' श्रेष्ठले पहिलोपोस्टसँग भने। श्रेष्ठको अन्तर्राष्ट्रियस्तरमा यो पहिलो स्वर्ण पदक हो।
टिम काता तर्फ नेपाललाई स्वर्ण पद दिलाएकी सरु बिष्ट र निर्मला तामाङ दुवै नेपाल प्रहरीकै खेलाडी हुन्। उनीहरु पनि प्रहरी जवान नै हुन्। १३ औं दक्षिण एसियाली खेलकुद (सागमा) पार्वती गुरुङले थप एक स्वर्ण हसिल गरिन्। तेक्वान्दो तर्फको पुम्सेमा गुरुङले पदक हासिल गरेकी हुन्। उनले ८.२५ स्कोर गरिन्। उनले २३ देखि २९ वर्ष उमेर समूहमा जित हासिल गरेकी हुन्। श्रीलंकाले ८.१४ स्कोर गर्दै रजत तथा भारतले ७.०३ स्कोर गर्दै कास्य पदक हासिल गरेका थियो। उनी नेपाल प्रहरीमा कार्यालय सहायकका रुपमा कार्यरत छिन्।
विप्लव श्रेष्ठले पनि नेपालको लागि स्वर्ण पदक जिताएका छन्। उनी नेपाल पुलिस क्लव अन्तर्गत प्रशिक्षणमा रहेका खेलाडी हुन्।
देशका लागि थप दुई वटा स्वर्ण दिलाएका निशा दर्नाल र नविन रसाइली पनि नेपाल प्रहरीकै खेलाडी हुन्। तर, उनीहरु करारका खेलाडी हुन्। नेपाल प्रहरीले अहिलेसम्म स्वर्ण, कास्य र रजत गरेर १४ वटा पदक हात पारिसकेको छ।