दक्षिण एसियाली खेलकुद अन्तर्गत भएको टी - २० क्रिकेटमा नेपाल श्रीलंका सँग पराजित भएको छ। कीर्तिपुर स्थित क्रिकेट मैदानमा भएको खेलमा श्रीलंकाको अन्डर २३ टोलीले नेपाललाई ६ विकेटले पराजित गरेको हो।
नेपालले श्रीलंकालाई १७३ रनको चुनौती दिएको थियो। जवाफी ब्याटिङमा उत्रेको श्रीलंकाले १९. १ ओभरमा ४ विकेट गुमाउँदै १७५ रन बनाएको हो।
श्रीलंकाको जितमा सम्मु असनले सर्वाधिक ७२ रन बनाए। यस्तै, निशान मुदुस्काले ४६ रन बनाउँदा पी निसन्काले ३० रन बनाए। नेपालका लागि पवन सरार्फले दुई विकेट लिँदा सोमपाल कामी र सुसन भरीले एक-एक विकेट लिए।
खेलमा टस जित्दै श्रीलंकाले पहिला बलिङ गरेको थियो। २० ओभरको खेलमा नेपालले ५ विकेट गुमाउँदै १७२ रन बनायो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले नटआउट रहँदै सर्वाधिक ७२ रनको योगदान गरे। यस्तै, पी सरार्फले २२ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले २१ रन बनाएका थिए।
श्रीलंकाका लागि कामिदु मेनदिसले दुई विकेट लिँदा असिथा फर्नानडो, डिएस तिलकरत्ने र के अजुलाले एक- एक विकेट लिएका थिए।