सुर्खेत : सुर्खेतको वीरेन्द्रनरमा मौसम सम्बन्धी पूर्व जानकारी दिने राडार सञ्चालनमा आएको छ। निर्माण कार्य सकिएको झण्डै एक वर्षपछि सञ्चालनमा आएको राडारको नेपाल सरकारका ऊर्जा, जलस्रोत, तथा सिँचाई मन्त्री वर्षमान पुनले शुभारम्भ गरेका छन्।
अमेरिकी कम्पनी इन्टरप्राइज इलेक्ट्रोनिक को–अपरेशनले विश्व बैंकको करिव १७ करोडको लागतमा उक्त लागत निर्माण गरेको हो। मन्त्री पुनले राडारको उद्घाटन गर्दै मानविय क्षतीबाट बच्न, प्राकृतिक विपद्को न्युनिकरण र व्यवस्थापन गर्न सहज हुने बताएका छन्।
‘नराम्रो क्रियाकलापहरुले प्रकृतिसंगको सन्तुलन विग्रदै गएको छ। जसले गर्दा मौसम सम्बन्धी नयाँ नयाँ परिघटनाहरु भइरहेका छन्', उनले भने, ‘प्रकृतिका गतिविधि नजिकैबाट अध्ययन गर्ने यस्ता प्रविधिको विकास भएको छ। जसले गर्दा निर्माण गरिएका पूर्वाधार र मानविय क्षती कमी हुने र हवाई सेवा लगायत प्राकृतिक विपद्को व्यवस्थापन गर्न पनि सहयोग पुग्ने देखिन्छ।'
सरकारले यस्ता प्रविधिहरु सञ्चालन गर्न जोड दिदैँ आएको उनको भनाइ छ।
सञ्चालनमा आएको मौसमी राडारले वर्षा, वर्षाको प्रकार तथा तिव्रता, वायु प्रणालीको बहाव, बादलको अवस्था, असिना, हिउँ, चट्याङ, आँधी लगायतको प्राकृतिक प्रकोपको पूर्वानुमान गर्ने छ।
राडारले के गर्छ?
समुन्द्र सतहबाट दुई हजार दुई सय ४४ मिटर उचाईमा सुर्खेतको वीरेन्द्रनरस्थित रातानाङ्ला डाँडामा रहेको राडारले एक सय ५० किलोमिटर अर्थात, कर्णाली, सुदूरपश्चिम, प्रदेश ५ र भारतको लखनउसम्मको मौसम सम्बन्धि पूर्व जानकारी दिने छ।
वास्तविक र विश्वसनीय मानिएको राडार प्रविधिले अनुमानित मौसमी विश्लेषण गर्ने बाध्यताको अन्त्य भएको दावी गरिएको छ। राडारले यस क्षेत्रमा कहाँ, कुन समयमा कति वर्षा भइरहेको छ? अथवा हुन सक्छ भन्ने पूर्वसूचना दिन्छ। वर्षातको तीव्रता, हावाको बहाव, बादलको अवस्था, असिना, हिउँ, चट्याङसम्बन्धी मौसमी जानकारी दिएर जोखिम पूर्वानुमान गर्न सहयोग गर्छ।
आकाशतर्फ ठड्याएर राखिएको यन्त्रले वास्तविक अवस्थाको तस्विर खिच्ने र त्यसका आधारमा हिमपात, असिना तथा स्थानीय क्षेत्रमा हवाई यातायातका लागि उपयुक्त भए नभएको अनुमान गर्न सकिन्छ। यसबाट विभिन्न नदीमा बाढी आउन सक्ने सम्भावनाको समेत विश्लेषण गरी सतर्कता अपनाउनलाई आवश्यक रणनीति बनाउन सहज हुन्छ।
दुई वटा विमानस्थलको मौसम सफा रहे पनि राडारले दुई विमानस्थल बीचमा पर्ने हवाई रुटमा कहाँ कति बादल लागेको छ? कति वर्षा भइरहेको छ भन्ने जानकारी पनि समेत दिनेछ।