PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

सीता एयरलाइन्सले गर्‍यो तीन वटा विमानस्थलमा परीक्षण उडान



रासस

सीता एयरलाइन्सले गर्‍यो तीन वटा विमानस्थलमा परीक्षण उडान

ताप्लेजुङ : सीता एयरले १ नम्बर प्रदेशका तीनवटा विमानस्थलमा आज परीक्षण उडान गरेको छ। एयरलाइन्सले ताप्लेजुङको सुकेटार, खोटाङको लामिडाँडा र ओखलढुङ्गाको रुम्जाटारमा परीक्षण उडान गरेको हो।

आगामी मंसिर २७ गतेदेखि ताप्लेजुङस्थित पाथीभरा र खोटाङको हलेसीमा तीर्थयात्री ओहोरदोहोर गराउने योजनाका साथ परीक्षण उडान गरिएको एयरलाइन्सका प्रबन्धक रिजेश थापाले जानकारी दिए। उनका अनुसार तीनवटै ठाउँमा सफल परीक्षण गरिएको छ।

परीक्षणका क्रममा प्रदेश राजधानी विराटनगरबाट २० मिनेटको समयमा ताप्लेजुङको सुकेटार विमानस्थलमा जहाज अवतरण भएको थियो। काठमाडौंबाट उडेको जहाज रुम्जाटार र त्यसपछि लामिडाँडा गएको थियो।

लामिडाँडाबाट सिधै ताप्लेजुङ आउने प्रयास भए पनि मौसमका कारण विराटनगर अवतरण भई मौसम अनुकूलपछि त्यहाँबाट सुकेटार आएको नागरिक उड्डयन प्राधिकरण सुकेटार विमानस्थलका प्रमुख रुपेश मुरारकाले जानकारी दिए।

पाथीभरा र हलेसीमा तीर्थयात्री ओसार्ने योजनाअनुसार परीक्षण भएको र यसको नेतृत्व १ नम्बर प्रदेशको विराट होलिडे ग्रुपले गरेको जनाइएको छ। दुई महिनासम्म प्याकेजमा चलाउने र त्यसपछि नियमित उडान गर्ने उद्देश्य रहेको एयरलाइन्सले जनाएको छ। यस अवधिमा विराटनगरबाट सुकेटारसम्म जहाजमा र त्यहाँबाट हेलिकोप्टरमा पाथीभरा दर्शनका लागि तीर्थयात्री लैजाने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell