
आजको दिन उत्साहबाट शुरु भएर विस्मातमा पुगेर टुङ्गियो मेरा लागि। उत्साही हुनुमा कारणहरु थिए – आजका सफल खेलहरु। एकातर्फ नेपाली महिला भलिबल टोलीले पहिलो पटक दक्षिण एसियाली खेलकुदको फाइनलमा खेल्दै थियो, अर्कोतर्फ नेपाली फुटबल टोलीले वर्षौपछि दशरथ रंगशालामा खेल्दै थियो परिचित प्रतिद्वन्द्वी भुटानसँग।
त्यस्तै, हिजो उत्साहजनक रुपमा पदक ल्याएको कराते, तेक्वान्दो, उस्सुका खेलहरु पनि थिए आज। क्रिकेटमा पनि टेस्ट राष्ट्र श्रीलंकासँग खेल्न गइरहेको थियो। यस्तैयस्तै महत्वपूर्ण खेलहरु थिए आज।
'म कता जाउँ?' बडो द्विविधा थियो मनमा।
उस्सु र क्रिकेट, एथ्लेटिक्स सहकर्मी समर्थले हेर्ने कुरा भएपछि सहकर्मी प्रविन र म पुग्यौं सातदोबाटो।
पहिला कराँतेमा। हामी पुग्दा कराँतेमा प्रतिस्पर्धा चलिरहेको थियो।
एकछिन सुटिङमा गएर कराँतेमै फर्कँदा फाइनलमा नेपालका लागि नवीन रसाइली फाइनलमा प्रतिस्पर्धा गरिरहेका थिए। त्यहाँ पुग्दा समर्थकहरु आक्रोसित देखिन्थे। सायद, त्यस्तै केही निर्णयमा चित्त बुझाएका थिएनन्। एकैछिनमा रसाइलीले स्वर्ण जिते। उनीसँग कुरा गर्न पुगिहालेँ म। उनीसँग जितको खुशी व्यक्त गर्न शब्द नै थिएन। तर, उनको आँखामा छचल्किन लागेको आशुले उनको भाव सविस्तार व्याख्या गरिरहेको थियो।
कराँतेका मुख्य प्रशिक्षक मदन उप्रेती गमक्क परेर खेल हेरेर बसेका थिए। उनले ६ देखि ८ स्वर्ण आउने प्रक्षेपण गरेका थिए। खेलहरु अझै बाँकी नै थियो तर उनले भने झै लक्ष्य नेपालले हात पारिसकेको थियो। मुसक्क हाँस्दै प्रशिक्षक उप्रेतीले भने, 'अझै दुई स्वर्ण त कम्तीमा जित्छ आज।'
र, भयो पनि त्यस्तै।
खेल हेर्दाहेर्दै दिउँसो १२ बजिसकेको थियो। नेपाल र भुटानबीचको फुटबल हेर्न हिँड्यौं त्रिपुरेश्वरतिर। सात दोवाटोको जाममा झन्डै १ घन्टा नै लाग्यो। तर, खेल आधा घन्टा पछाडि सरेकाले धन्न कुनै असर परेन।
त्रिपुरेश्वर आइपुग्दा पार्किङमा भने समस्या देखियो। केही दिन अघि सागको पत्रकार सम्मेलनमा नेपाल प्रहरीको नेतृत्व हाँकिरहेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पत्रकारलाई पार्किङका लागि व्यवस्था गरिने बताएका थिए। सोही अनुरुप पार्किङ पाइएको थियो साग उद्घाटनका दिन्। तर, आज पार्किङस्थलमा खटिएका प्रहरीले छिर्नै दिएनन्।
'अनि त्यो के हो त?' त्यहाँ पार्किङ गरेको अर्को मिडियाको गाडी देखाएर मैले सोधेँ। गाडीचाहिँ राख्न पाइने रे।
'गाडी किन्न नसकेको पत्रकार' परियो। 'जय होस्' भन्दै त्यहाँबाट हिँड्नुको विकल्प थिएन, खेल सुरु हुनै लागेको थियो।
टुँडिखेलमा बाइक पार्किङ गरेर रंगशाला पुग्यौं। दर्शकहरुको उपस्थिति उल्लेखनीय थियो। खेल सुरु भएको १५ मिनेट पछिसम्म दर्शकहरु लाइनबाट आइरहेका थिए। टिकटमा सायद केही समस्या थियो।
त्यसैबीच नेपाल क्रिकेटमा श्रीलंकासँग पराजित भएको चर्चा पनि त्यहाँ रहेका सञ्चारकर्मीहरु बीच चलिसकेको थियो।
'टेस्ट राष्ट्रसँग यत्तिको खेल ठीकै हो,' कसैले भन्दै थियो।
कप्तान सुजल श्रेष्ठको गोलमा नेपालले अग्रता बनाएपछि क्रिकेटमा भएको पराजय भूलियो। कप्तान सुजल श्रेष्ठले गोल गर्दै सुरुमै अग्रता बनाएका थिए। खेलभर नेपाल हावी रह्यो। र, अन्त्यमा जित पनि निकाल्यो। खेलपछि भुटानका प्रशिक्षक पेमा दोर्जीले लगातार खेल पर्नाले खेलाडीहरुलाई बढी प्रेसर परेको गुनासो गरे।
'गोरु त होइन, लौरो लाएर जोताउने कुरा भएन। रेगुलर खेल्दा थाकिहाल्छ नि,' यसमा उनले भन्न खोजेको सबैकुरा बुझियो। रोचक त यो थियो कि उनी प्रस्ट नेपाली भाषामा बोल्दा रहेछन्। पोस्ट म्याच कन्फ्रेन्समा उनले पूरै नेपाली भाषामा आफ्ना कुरा पस्किए। यो हाम्रा लागि पनि रोचक विषय बनिरहेको थियो।
प्रशिक्षक र कप्तानका धारणा टिपेर समाचार पठाएर हतार हतार भलिबल हुने कभर्ड हलमा पुग्दा त घम्साघम्सी पो परिरहेको रहेछ। उपराष्ट्रपति पनि भलिबल हेर्न पुगेकाले सुरक्षा व्यवस्था बढाइएको होला भन्ने ठानेँ। तर, होइन रहेछ। टिकट काटेका दर्शकदेखि अफिसियल र पत्रकारहरु समेत भित्र पस्न पाइरहेका थिएनन्। भित्र ठाउँ नै थिएन। मैले पनि भित्र पस्ने प्रयास गरेँ तर दिँदै दिएनन्।
'लौ त' भनेर बाहिर निस्कँदा केही खेलकुदकै पदाधिकारी र टिकट लिएर पनि भित्र पस्न नपाएका दर्शकहरु बहसमा उत्रिएका थिए। एकछिन अघि गेटमा देखेको त्यस्तै भिड एकाएक यहाँबाट हटिसकेको थियो। उनीहरु भित्र पनि पसेका थिएनन्।
'नेपाल! नेपाल!'
आवाज आयो। सोचेँ कभर्ड हलबाट आयो। तर, होइन रहेछ। अघिका कभर्ड हल पस्न खोज्ने दर्शकहरु दशरथ रंगशालामा पसेर 'डिस्प्ले' मा खेल हेरिरहेका रहेछन्। सायद, कभर्ड हलमा भन्दा धेरै त्यता थिए होलान्। मलाई पनि भलिबल हेर्नै थियो तर अफिस गएर टेलिभिजनमा हेर्नुपर्यो भन्ने सोच आयो।
त्रिपुरेश्वर पुग्दा त देख्छु झन्डै दशरथ रंगशालामा जति नै मानिसहरु त्यहाँको डिस्प्लेमा खेल हेरिरहेका थिए। मलाई पनि खेल हेर्नु थियो। हतारहतार गरेर अफिस पुगेँ।
अफिस पुग्दा नेपालले पहिलो सेटमा हार र दोस्रो र तेस्रो सेटमा जित हात पारिसकेको रहेछ। तर, रोमाञ्चक खेलमा नेपाल अन्तिममा ३–२ ले हार्यो। जित ऐतिहासिक हुन्छ। तर, मलाई हार पनि ऐतिहासिक लाग्यो। एक त समूह चरणमा त्यही टिमसँग सजिलै सोझो सेटमा पराजित भएको नेपालले उच्च प्रतिस्पर्धा गर्दै पटकपटक जितको नजिक पुगेको थियो। त्यस्तै, यस अघिका सागमा कास्य पदक भन्दा माथि उठ्न नसकेको नेपाली टोलीले रजत पदक जितेको थियो, सम्मानजनक खेल खेलेर।
तर, मनमा भने चिसो बसिरह्यो- केही साना गल्ती नगरेको भए नेपालले स्वर्ण जित्थ्यो। अनि, साथी सहयोग रञ्जितले हिजैदेखि जुराएको हेडलाइन – ‘भलिबलका गोल्डेन गर्ल्स’ यसपालीका लागि हेडलाइन बन्न सकेन।